अब नेपाली विद्यार्थी जापान र अष्ट्रेलिया जान पाउने

अब नेपाली विद्यार्थी जापान र अष्ट्रेलिया जान पाउने

काठमाडौं। जापान र अष्ट्रेलियाले विद्यार्थीका लागि परमिट खोलेपछि नेपाली विद्यार्थीको करिब ७ अर्बको जोखिम टरेको छ।

अष्ट्रेलियाले १ डिसेम्बर र जापानले ८ नोभेम्बरदेखि लागू हुनेगरी विद्यार्थीलगायत विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको थियो।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दिपकराज भुसालले भने , ‘जापान र अष्ट्रेलियाको घोषणाले नेपाली विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई खुशी तुल्याएको छ।’

हाल अस्ट्रेलियाको लागि झन्डै चार हजार नेपाली विद्यार्थीले अध्ययनका लागि भिसा लिएको उनको भनाई थियो। ‘वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झन्डै सात अर्ब रुपैयाँ लगानी भएको छ,’ उनले भने।

यस्तै जापानका लागि सीइओ पाएका आठ हजार बढी विद्यार्थीको लगानी जोखिम मुक्त भएको छ। कोभिडका कारण लामो समय सीमा बन्द हुँदा कतिपय विद्यार्थी डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाइन कक्षा लिन बाध्य थिए ।

जापानका लागि औसत प्रतिविद्यार्थीले सात लाख रुपैयाँ बुझाएको उनको भनाइ थियो। ‘जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको थियो,’ उनले भने।

जापान र अष्ट्रेलियाको नयाँ निर्णयपछि कोभिड(१९ विरुद्धको पूर्ण मात्रा खोप लगाई योग्य भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी ती मुलुकमा जान सक्ने छन् ।

अस्ट्रेलियाका तीनवटा राज्यबाहेक विद्यार्थीले क्वारेन्टिन बस्नुपर्ने नियम छ । न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरिया राज्यमा जाने पूर्णखोप लगाएकाले क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ।