फिनेको हङकङ शाखाले पूर्णता पायो, नेतृत्वमा बञ्जारा

फिनेको  हङकङ शाखाले पूर्णता पायो, नेतृत्वमा बञ्जारा

हङकङ। नेपाली सामानलाई विश्वव्यापी बनाउने अभियानअन्तर्गत अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को हङकङ शाखाले पूर्णता पाएको छ। ९ तारिखमा गठन भएको ६ सदस्यीय समितिले आइतबार पूर्णता पाएको हो। समितिको अध्यक्षमा आकाश बञ्जारा छन् भने उपाध्यक्षद्धयमा विश्वनाथ घिसिङ, द्रोणकुमार दाहाल र महासचिवमा इन्दर पुन रहेका छन्। यस्तै, सचिवमा शुरेस कलाल थापा, कोषाध्यक्षमा रजनीश भट्टराई, सदस्यहरूमा निर्मल अर्याल, अन्जु घिसिङ, मनिस लिम्बु, अशोक गुरुङ र जीवन्त खत्री रहेका छन्।

नेपाली युवाहरूलाई उद्यमी बनाउने र बनिसकेका उद्यमशील युवालाई व्यापार विस्तार गर्न सिकाउने उद्धेश्यका साथ गठन गरिएको शाखामा थप ४ जना महिलालाई स्थान दिने अध्यक्ष आकाश बञ्जराले जानकारी दिए। ‘महिलाको उपस्थितिलाई मजबुत बनाउन हामीले सह–कोषाध्यक्ष र तीन सदस्य थप्ने निर्णय गरेका छौं,’ बञ्जाराले प्रवास खबरसँग भने। यस्तै, अन्तर्राष्ट्रिय फिनेका उपाध्यक्ष गोकर्ण ढकालले फिनेलाई विश्वव्यापी बनाउने अभियानअन्तर्गत विभिन्न देशमा शाखा गठन गर्ने थालिएको बताए। हङकङ शाखाको गठन पनि उनकै सक्रियतामा भएको हो। फिनेले आउँदो ३ डिसेम्बरमा काठमाडौंको ‘होटल याक एण्ड यति’ मा आधिकारीक घोषणा गर्दैछ।

‘हामी विश्वव्यापी रूपमा नेपाली बसोबास गरेका सबै ठाउँमा फिनेको शाखा गठन गर्ने अभियानमा छौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तै सबै ठाउँमा यसको पहुँच पुर्याउनु हाम्रो उद्धेश्य हो,’ ढकालले प्रवास खबरसँग भने, ‘८–९ वटा देशमा त पुर्याइसकेका छौं। हङकङ शाखाले नेपाली हस्तकलाको प्रमोशन हङकङमा छिट्टै गर्ने बताएको छ। ‘हाम्रो मुलभूत उद्देश्य भनेको नै नेपाली सामानलाई विदेशमा ब्रान्डिङ गर्ने हो। अमेरिकामा गोल्डस्टार जुत्ता र चीनमा नेपाली कफी पुर्याउन सफल भएजस्तै हामी नेपालका अन्य सामानलाई संसारको सबै कुनामा पुर्याउने योजनामा छौं,’ ढकालले बताए।

यस्तै उनले एउटा देशमा बसेर कुनै सामानको ‘ब्रान्डिङ’ गरिसकेका नेपालीको सामान अर्को देशमा पनि ‘ब्रान्डिङ’ गर्न फ्रेञ्चाइजको कन्सेप्ट पनि लागु गरिने बताए। नेपाली बजारमा विदेशी प्रविधि भित्र्याउने अभियान पनि फिनेको रहेको उनको भनाई छ। ‘यसका लागि हामी विदेशमा बसेर पढेका युवाहरूको सहयोग लिँदैछौं। विदेशमा आधाभन्दा बढी युवा उद्यमी छन्। देशमा ‘टेक्नोलोजी ट्रान्सफर्म’ गर्न उनीहरूको भूमिका सहयोगी हुन्छ,’ उनले भने।



No ads found for this position