‘एनआरएनएकाे चुनाव स्वच्छ र निष्पक्ष गराउन ‘फेसियल रिकग्निशन’ प्रविधिको विकल्प छैन’

‘एनआरएनएकाे चुनाव स्वच्छ र निष्पक्ष गराउन ‘फेसियल रिकग्निशन’ प्रविधिको विकल्प छैन’

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अनुहारको पहिचान प्रविधि ‘फेसियल रिकग्निशन’ लाई पहिलो पल्ट लागू गर्न लागिएको छ। यसले निस्पक्ष निर्वाचन गराउन सहयोग गर्ने भन्दै सबैले तारिफ गरिरहेको बेला अध्यक्षका प्रत्यासी कूल आचार्यको टिमले विरोध जनाएको छ।

उनीहरूले अनुहार पहिचान प्रविधि लागू गर्दा राष्ट्रिय सुरक्षामा खतरा हुने र मतदाताको गोपनीयता भंग हुने भन्दै विरोध जनाएका छन्। तर, एनआरएनएका अभियन्ता तथा प्रविधि विषयका जानकारहरू अनुहार पहिचान प्रविधिबाट हुने चुनावले जवाफदेहीता स्थापित गर्ने बताउँछन्।

‘मेल’ बाट मात्र गरिने चुनावका धेरै त्रुटी देखिन्छन्। तर, अनुहार पहिचानमार्फत गरिने चुनावले शंका उत्पन्न नहुने धेरैको सुझाव छ। यस विषयमा प्रवास खबरले एनआरएनएमा लामो समयदेखि आवद्ध व्यक्तिसँग कुराकानी गरेको थियो। उनीहरूको भनाई यस्तो छः

डा. हेमराज शर्मा, केन्द्रीय महासचिव–एनआरएनए

अनुहार पहिचान प्रविधि (फेसियल रिकग्निशन) सबैभन्दा विश्वासिलो प्रणाली हो। यो प्रविधि लागु हुँदा मतदाताले गर्ने मतदानको दूरुपयोग हुँदैन। त्यसैले अहिले यसको विरोध गर्ने काम भइरहेको छ। यसमा कोही पनि भ्रममा नपरौं। आफ्नो मत अनुहार देखाएर आफैले हाल्ने प्रणालीभन्दा अर्को वैज्ञानिक प्रणाली हुँदैन। हामीले धाँधलीरहित चुनावको परिकल्पना गरेर यो प्रविधि सञ्चालन गर्ने जिम्मा नै अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय मानिएको अस्ट्रेलियन कम्पनीलाई दिएका छौं।

गौरीराज जोशी, सचिव तथा ‘स्मार्ट एनआरएनए’ संयोजक

अनुहार पहिचानबाट हुने चुनाव अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक चुनाव हो। यो प्रविधिबाट हुने निर्वाचनको नतिजाको विषयमा कुनै विवाद रहँदैन। यसले नेतृत्वलाई जवाफदेही पनि बनाउँछ भने ‘फेक’ मतदान हुने सम्भावना पनि रहदैन।

यही कारण हामीले आउँदो निर्वाचनमा ‘फेसियल रिकग्निशन’ प्रविधि प्रयोग गर्ने निर्णय गरेका हौं। तर, चुनावमा पराजित हुने डरले एउटा पक्ष अफवाह फैलाउन उद्धत छ। उहाँहरूले ‘फेसियल रिकग्निशन’ भन्दा विश्वसनीय र जवाफदेही अर्को प्रविधि ल्याउनु भयो भने हामी त्यसलाई पनि स्विकार्न तयार छौं।

तर, अनावश्यक बखेडा निकाल्ने काम भएको छ। अहिले म माथि नै आरोप लगाउने काम पनि भएको छ– यो सबैमा गौरीराज जोशीको हात छ भनेर। तर, यो निराधार हो। मैले एमआइएस सिस्टमको दुरुपयोग गरे भनेर साथीहरूले भ्रम फैलाउने काम गरिरहेका छन्। यो अहिलेसम्मकै उच्च प्रविधि हो। यस्तो भ्रममा नफसौं।

कुष्णजीवी पन्थ, उपाध्यक्ष– एनआरएनए अमेरिका

निर्वाचनमा अनुहारको पहिचान गर्ने ‘फेसियल रिकग्निशन’ प्रविधि मलाई ठिकै लागेको छ। कोरोना महामारीका कारण यसपालि ‘अनलाइन भोटिङ’ मार्फत चुनाव हुँदैछ। त्यसैले यो प्रविधि व्यवस्थित छ। यो प्रविधि लागू नभएको खण्डमा अनाधिकृत रुपमा मतदान हुनसक्ने सम्भावाना प्रबल बनेर जानेछ। यसले चुनावलाई निस्पक्ष गर्ने मेरो मान्यता हो। आफ्नो भोट आफैले हाल्ने हो, हाल्नुपर्छ।

पासाङ शेर्पा, उपाध्यक्ष– एनआरएनए यूएई

अहिलेको युग ‘आर्टिफिसियल इन्टेलिजेन्सी’ को हो। हामी हरेक दिन सयाैँ पटक मोबाइलमा ‘फेस आइडी र फिङ्गर प्रिन्ट प्रयोग गर्छौ। यो सबै सुरक्षा र गोपनियताको लागि नै हो।

तपाईको ग्याजेट अरु कसैले अनाधिकृत रुपमा ‘एक्सेस’ गर्न नसकोस् भनेरै सुरक्षाका उपाय गरिएको हो। एनआरएनएको निर्वाचन प्रणालीमा पनि ‘फेस रिडिङ’ गरेर मतदान हुनु भनेको, जो सम्बन्धित मतदाता हो, उसैले बाहेक अरुले प्रयोग नगरोस् र मतदान धाँधलीरहित होस् भन्ने नै हो। त्यसैले ‘फेस रिडिङ प्रणाली’ अनिवार्य लागू हुनैपर्छ।

‘फेसियल रिकग्निशन’ मात्र होइन, डेलिगेट्सको गैरआवासीय नेपालीको हैसियत छ कि छैन, उसको आवासीय भिसा अध्यावधिक छ कि छैन भन्ने पनि सुक्ष्म रुपले निरीक्षण गरिनु पर्दछ।

गत अधिवेशनमा जस्तो विदेश छोडेर जननिर्वाचित वडाध्यक्ष भैसकेका, विदेश छोडेको वर्षौ भैसकेका र दशैंतिहार मनाउन नेपाल आइपुगेकालाई बोलाउदै डेलिगेट्स बनाउने गलत अभ्याससमेत रोकियोस्। समयानुसारको प्रविधिको प्रयोग अवश्य हुनै पर्दछ।

गोकर्ण ढकाल, अध्यक्ष– एनआरएनए हङकङ

‘फेसियल रिकग्निशन’ चाहिन्छ। यसो नभएमा धाँधली हुन्छ। किनभने कतिपयले मेम्बरको आइडी पासपोर्ट कब्जा गरेर आफै मतदान गर्ने योजनामा छन्।

धाँधलीरहित र स्वच्छ निर्वाचन गराउन पनि ‘फेस रिडिङ’ अनिवार्य गराउनु पर्छ। आफ्नो भोट आफैले हाल्न पाउनु पर्दछ।

देबी बस्नेत, एनआरएनए अभियन्ता दक्षिण कोरिया

संघले अहिले पहिलो पटक अनलाइनमार्फत चुनाव गर्न लागिरहेको छ। पहिलो पटक भएको हुँदा विश्वसनियताको कुरा पनि उठाइएको छ।

चुनाव स्वच्छ र निष्पक्ष गराउनका लागि ‘रिलायबल’ श्रोत चाहिन्छ, त्यो भनेको ‘फेस रिडिङ’ एउटै ‘सोलुसन’ हो। पहिले जस्तै यसपालि प्रत्यक्ष उपस्थित भएर निर्वाचन गर्ने अवस्था छैन। त्यसैले अनलाइनबाट चुनाव गराउँदा ‘फेसियल रिकग्निशन’ को विकल्प छैन।

मेघराज सापकोटा, पत्राकार तथा एनआरएनए अभियान्ता यूएई

‘फेसियल रिकग्निशन’ जरुरी छ। नभए ‘स्मार्ट आइटी’ को दुरुपयोग हुन्छ। एउटै व्यक्तिले धेरैको इमेल आइडी प्रयोग गरेर ‘फेक’ मतदान गर्ने काम हुन्छ। यस्तो काम अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान जस्ता ठूलै देशबाट हुनसक्छ।

‘फेस रिक्गनिसन’ भएन भने ‘स्मार्ट आइटी’ को दुरुपयोग गरेर ‘बुथ क्यापचर’ हुनसक्छ। त्यसैले यो प्रविधि हटाउन माग गर्नु भनेको ‘बुथ क्याप्चर’ गर्न अनुकुल नभएर हो।

दीपक श्रेष्ठ, पूर्वअध्यक्ष, एनआरएनए ओमन

‘फेसियल रिकग्निशन’ प्रविधि हटाउन हुँदैन। यो हटाउनु भएको फर्जी भोटको लागि उत्प्रेरणा दिनु हो। अर्काको आइडी दूरुपयोग गरेर ‘फेक’ भोट हाल्न ‘फेसियल रिकग्निशन’ को विरोध भएको छ। टाउको किनेर भोट एक्लैले हाल्न पाउनेलाई जिताउने खेललाई निरुत्साही गर्नुपर्छ।

‘फेसियल रिकग्निशन’ लागू गर्दा डाटा चोरी हुन्छ भन्नु हास्यास्पद कुरा हो। हामीले हाम्रो राहदानी र आइडी कार्ड लिँदा नै सबै विवरण दिइसकेका छौं। यसैले यस्तो तर्क भोट चोरीको उद्देश्यले आएको हो।