‘दुबई एक्स्पो’मा ‘नेपाल’ घन्कियो, पञ्चेबाजा र कौडा नाचले विदेशी चकित

‘दुबई एक्स्पो’मा ‘नेपाल’ घन्कियो, पञ्चेबाजा र कौडा नाचले विदेशी चकित

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालको मौलिक पञ्चेबाजा र कौडा नाच प्रस्तुत गरिएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा पञ्चेबाजा र मगर समुदायमा प्रचलित कौडा नाच प्रस्तुती भएको हो।

नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाइमा मगर संघले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाकासाथ मौलिक नृत्य प्रस्तुत गरेको हो।

कौडा नाचले एक्स्पो भ्रमणमा आएका विदेशी पर्यटकलाई समेत लोभ्याएको थियो । पर्यटक पनि कलाकारहरुसँगै नाचेर मनोञ्जन लिएका थिए।

यस्तै लाङघाली सांगीतिक समूहले प्रस्तुत गरेको मादल, मुरली र सांरगीको धुनले वातावरण संगितमय बनेको थियो। नेपाली बाजागाजासहितको प्रदर्शनीले कार्यक्रम स्थल पूरै नेपालमय बनेको थियो। कार्यक्रममा यूएईमा कार्यरत नेपालीको व्यापक सहभागीता देखिन्थ्यो।

आदिवासी जनजाति महासंघ यूएईका संरक्षक तथा एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले कार्यक्रमको नेतृत्व गरेका थिए। शेर्पाकै नेतृत्वमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्दै आएका छन् । यसअघि किरात राई यायोक्खा समूहले आफ्नो प्रस्तुती दिएको थियो।

आगामी शुक्रबारको कार्यक्रममा किरात याकथुम चुम्लुङ समूहले च्याब्रुङ र धान नाच प्रस्तुत गर्ने तालिका रहेको शेर्पाले प्रवास खबरलाई जानकारी दिए।

‘दुबई एक्सपो’ संसारकै ठूलो प्रर्दशनी भएकोले नेपालको कला, संस्कृतिलाई विश्वसामू चिनाउन मह्त्वपूर्ण प्लेटफर्म रहेको शेर्पाको भनाइ छ।

दुबई एक्सपो’ मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ। ‘नेपाल आदिवासी जनजाति महासंघ र आवद्ध संस्थाले एक्स्पोमा नेपालको मौलिक विविधता झल्काएर विश्वमाझ नेपाली कला र संस्कृतिलाई चिनाउने हाम्रो अभियानमा साथ दिनुभएको छ, आइजी ग्रुपका अध्यक्ष अमृतरत्न शाक्यले खुशी व्यक्त गर्दै  प्रवास खबरसँग भने।

एक्स्पोकै बीचमा आगामी २ जनवरीमा ‘दुबई–एक्स्पो’ को मुख्य पवेलियनमा नेपाल–डे’ मनाउन लागिएको छ । ‘हामीले यसका लागि उच्च तयारी गरिरहेका छौं। ‘नेपाल डे’ मा नेपालको मौलिकता अवलोकन गर्न विश्वभरिका थुप्रै पर्यटक आउने आशा छ,’ अध्यक्ष शाक्यले भने। नेपाल डे’ लाई सफल बनाउन नेपालबाट उच्चस्तरीय प्रतिनिधि दुबई आउने कार्यक्रम छ।

यो पनि पढ्नुहोस्

‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने