१० हजार नेपाली नर्स लैजाने बेलायती प्रस्ताव

१० हजार नेपाली नर्स लैजाने बेलायती प्रस्ताव

काठमाडौं। बेलायतले १० हजार नेपाली नर्स लैजान सरकारसँग प्रस्ताव गरेको छ। बेलायती सरकारको उक्त प्रस्तावपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्स पठाउने तयारी अगाडि बढाएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिएका छन्।

बेलायतमा काम गर्ने नेपाली नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने गौतमले बताए। नेपालबाट छनोट भएर बेलायत जाने नर्सहरूको बिमा तथा टिकट खर्च बेलायतले नै उपलब्ध गराउने छ।

दुवै देशबीच यस विषयमा सम्झौताको तयारी भइरहेको मन्त्रालयले बताएको छ। ‘सम्झौंता टुँगिएको खण्डमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्स पठाउने कार्य सुरु हुनेछ,’ शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले काठमाडौंमा गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा सचिव गौतमले भने।

उनले नेपालबाट पठाउँदा कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिए।