नेपालको मौलिकता बोकेको काष्ठमण्डपलाई दुबईमा स्थापित गर्ने योजना

नेपालको मौलिकता बोकेको काष्ठमण्डपलाई दुबईमा स्थापित गर्ने योजना

काठमाडौं। नेपाली मौलिकता बोकेको काष्ठमण्डपलाई संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा स्थापित गर्ने अभियानमा इम्प्लिमेन्टिङ एक्पर्ट ग्रुप (आइजी) अघि बढेको छ।

हाल दुबईमा सञ्चालन भइरहेको विश्व व्यापार प्रदर्शनी (एक्स्पो–२०२०) मा नेपालको मौलिकता बुझ्न विदेशी पर्यटकले देखाएको चासोका कारण आइजी समूहले दुबईकै कुनै एउटा ठाउँमा काष्ठमण्डप स्थापित गर्ने योजना अघि सारेको हो।

‘हामीले दुबईको ग्लोबल भिलेज वा अन्त कतै राख्ने गरि तयारीअघि बढाएका छौं,’ आइजी समूहका अन्तर्राष्ट्रिय निर्देशक विनायक शाहले प्रवास खबरलाई जानकारी दिए।

उनले ‘दुबई एक्स्पो–२०२०’ मा नेपाली पवेलियनभित्र काष्ठमण्डप निर्माण गर्ने योजना पनि अघि सारेका थिए। तर, कोभिड–१९ महामारीका कारण आइजी समूहको योजना बीचैमा तुहिएको थियो। ‘नेपाली पवेलियनमा हामीले काष्ठमण्डप बनाउन आधा तयारी पूरा गरिसकेका थियौं’, शाहले भने, ‘तर, कोभिड महामारीका कारण एक्स्पोमा प्रदर्शनीका लागि राख्न सकेनौं। यसका लागि हामीले धेरै मिहिनेत र खर्च गरिसकेका छौं। त्यसैले अब दुबईको ग्लोबल भिलेज वा अन्त कतै राख्ने गरी तयारी भइरहेको छ।’

उनले काठको नक्सा पास गर्न धेरै समय लागेको, कोभिड महामारी र लकडाउनका कारण हवाइ उडान नहुँदा हिँडडुल गर्न अप्ठ्यारो परेको जानकारी दिए। ‘निर्माण सामाग्री दुबई पुर्याउन समस्या परेपछि प्रदर्शनीमा काष्ठमण्डप बनाउने योजना स्थगित गर्नु परेको हो,’ उनले भने।

कम्पनीका अनुसार काष्ठमण्डप निर्माणको लागि इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपका वरिष्ठ अधिकारीहरू, मास्टर आर्किटेक्ट र इन्जिनियर तथा प्राविधिक विशेषज्ञहरूको समूहले नेपाली अधिकारीसँग बैठक गर्नुका साथै कन्सेप्ट डिजाइन स्वीकृत, स्थानीय ठेकेदारको नियुक्ती र लाखौं डलर मूल्यको सामग्री र सेवाहरू खरिद गरिसकेको थियो। यस्तै, काष्ठमण्डपका लागि आवश्यक पर्ने करिव एक सय मेट्रिक टन सालको काठ खरिद गरेर नेपाली डिजाइनरबाट कलात्मक डिजाइन समेत तयार पारिसकेको थियो।

काष्ठमण्डप निर्माण गर्न यूएई सरकारले अस्ट्रेलिया पवेलियन नजिकै २ हजार वर्ग मिटर जमिन नेपाललाई उपलब्ध गराएको थियो। यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले भूमिपुजन पनि गरिसकेका थिए। तर, कोरोना महामारीका कारण काष्ठमण्डपका सामग्री ढुवानी गर्न असम्भव भयो।

‘नेपाली कला, संस्कृतिलाई संसारभर पुर्याउन ‘दुबई एक्स्पो–२०२०’ मा काष्ठमण्डप निर्माणको योजना बनाइएको हो,’ आइजी समूहका अध्यक्ष अमृतरत्न शाक्यले बताए। तर, अब एक्स्पोमा राख्न असफल भएपनि दुबईको कुनै प्रतिष्ठित ठाउँमा काष्ठमण्डपलाई स्थापित गर्न सकिए, यसको प्रभाव उत्तिकै पर्ने शाक्यको विश्वास छ।

‘काष्ठमण्डप निर्माणका लागि हामीले धेरै लगानी गरिसकेका छौं,’ शाक्यले भने, ‘यो लगानीलाई खेर जान दिदैनौं, विश्वले देख्नेगरी राख्छौं, यसले विश्वमा नेपाल चिनाउने छ।’

स्वीकृतिका लागि आइजी समूहका प्रतिनिधिले यूएई सरकारका सम्बन्धित अधिकारी, आबुधाबीस्थित नेपाली राजदूतलगायत सबैसँग छलफल गरिसकेको छ।

‘काष्ठमण्डपको डिजाइन देखेर यूएईका अधिकारी पनि प्रभावित भइसकेका छन्। काष्ठमण्डपलाई आफ्नो देशमा स्थापित गर्न उनीहरू सकरात्मक देखिन्छन्। काष्ठमण्डप निर्माणको लागि हाम्रो रोजाइ दुबईको ग्लोबल भिलेज परेको छ’, शाक्यले बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई शाखाका उपाध्यक्ष पासाङ शेर्पा काष्ठमण्डपलाई यूएईमा स्थापित गर्नसके देशकै लागि गौरवको विषय हुने बताउँछन्। ‘दुबई विश्वकै प्रसिद्ध सहर भइसकेको छ। यहाँ संसारभरका पर्यटक भम्रणका लागि आउने गर्छन। त्यसैले दुबईमा काष्ठमण्डप स्थापित गर्दा यसको प्रभाव मध्यपूर्वी मुलुकमा मात्र होइन, संसारका अन्य देशमा पनि पर्छ,’ एनआरएनए उपाध्यक्ष शेर्पा बताउँछन्।

प्रदर्शनीमा यस्तो छ नेपालको उपस्थिति

पूर्वयोजना अनुरुप काष्ठमण्डप बनाउन नसक्दा ‘दुबई एक्स्पो–२०२०’ को सुरुवाती दिनमा नेपालको उपस्थिति केही फितलो देखिएको थियो। तर, पछिल्लोसमय अवस्था त्यस्तो छैन। नेपालको उपस्थिति दरिलो देखाउन आयोजकले अथाह मिहिनेत गरेका छन्।

काष्ठमण्डप यूएईमा स्थापित गराउन नसकेपनि विश्व समुदायमाझ नेपाललाई चिनाउन २ सय १३ वर्ग मिटरको पवेलियनमा आयोजकले नेपालका अन्य मौलिक विषयवस्तुलाई पस्किँदै आएका छन्। यसले नेपालको उपस्थितिलाई कमजोर हुन दिएको छैन।

आइजी समूहले विगत तीस वर्षदेखि विदेशमा आयोजना हुने हरेक ‘एक्स्पो’ मा नेपाल सरकारको तर्फबाट प्रतिनिधत्व गर्दै आइरहेको छ। यो समूहले देशको प्रतिनिधित्व गर्दै १२ औं एक्सपोको रुपमा ‘दुबई एक्स्पो–२०२०’ मा भाग लिएको हो।

‘दुबई एक्स्पो–२०२०’ मा १ सय ९२ देश सहभागी छन्। यसमा नेपालले देशको मौलिक कला, संस्कृति झल्कने वस्तुहरू प्रदर्शन गरिरहेको छ। जसमा विशेष रूपले राष्ट्रिय अभियानसमेत सञ्चालन भइरहेका छन्। नेपालबाट ३२ व्यापारीक समूहको सहभागिता छ।

यसैगरी ‘दुबई एक्स्पो–२०२०’ मा जनजाती महासंघको अगुवाइमा प्रत्येक शुक्रबार यूएईमा रहेका विभिन्न जातजातिका संघ–संस्थाले आफ्नो मौलिक संस्कृति प्रर्दशन गरिरहेको आदिवासी जनजाति महासंघ यूएईका संरक्षकसमेत रहेका उपाध्यक्ष पासाङ शेर्पाले बताए।

नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाइमा गत शुक्रबार किरात राई यायोक्खा समूहले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाका साथ मौलिक झाँकी प्रस्तुत गरेको थियो। उक्त झाँकीले प्रदर्शनी हेर्न आएका विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको थियो। उक्त प्रस्तुतिलाई अन्तर्राष्ट्रिय मिडियाले समेत विशेष प्राथमिकता दिएका थिए।

‘पहिलो दिनको कार्यक्रमबाट हामी एकदमै उत्साहित छौँ’ शेर्पाले भने, ‘आगामी दिनमा थप व्यवस्थित रुपमा नेपालको मौलिक संस्कृति झल्कने प्रस्तुति पेश गर्छौ।’

नेपाल ‘डे’ मनाइने

यस्तै जनवरी २ तारिखका दिन ‘दुबई एक्स्पो–२०२०’ को सन्दर्भ पारेर नेपालले दुबईमै ‘नेपाल डे’ मनाउने भएको छ। नेपाल ‘डे’ का लागि आयोजक आइजी समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विशेष निम्तो दिएको छ। यसका लागि नेपालबाट मन्त्री, व्यापारीदेखि कलाकारसम्म सबै गरेर २ सयको हाराहारीमा नेपाली प्रतिनिधिले भाग लिने बताइएको छ।

यस्तो छ प्रदर्शनी
प्रदर्शनी सन् २०२० गर्ने तयारी भए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो। प्रदर्शनीमा ४६ हजार बढि संस्थाको सहभागिता छ। आगामी ६ महिना संचालन हुने प्रदर्शनीमार्फत सहभागी देशले आफ्नो शक्ति, प्रविधि र कला संस्कृति विश्वमाझ पस्किन पाउने छन्। ५० करोड मानिसले प्रदर्शनीमा भ्रमण गर्ने अपेक्षा राखिएको छ।