‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने

‘दुबई–एक्स्पो’ मा ‘नेपाल–डे’ मनाइने

दुबई। सन् २०२२ को जनवरी २ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘नेपाल डे’ मनाउने भएको छ। विश्वको सबैभन्दा ठूलो ‘एक्स्पो’ हाल दुबईमा सञ्चालन भइरहेको छ।

गत अक्टोबरमा सुरु भएको दुबई ‘एक्स्पो’ लाई ‘एक्स्पो–२०२०’ नामाकरण गरिएको छ। सन् २०२० मा सुरु गर्ने भनिएपनि कोभिड–१९ महामारीका कारण यो व्यापार मेला एक वर्षपछि सरेको हो।

‘एक्स्पो–२०२०’ मा विश्वभरिका देशसँगै नेपालले पनि आफ्नो उपस्थिति जनाइरहेको छ। नेपालबाट यसको जिम्मेवारी ‘इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)’ ले पाएको छ। नेपालको मौलिकता विश्वभरि प्रदर्शन गर्ने उद्देश्यले दुबई एक्स्पोमा आफूहरूले भाग लिएको आइजी ग्रुपका अध्यक्ष अमृतरत्न शाक्यले प्रवास खबरलाई बताए।

उनले दुबई एक्स्पो जस्तो ठूलो प्रदर्शनीमा ‘नेपाल डे’ मनाउन पाउनु गौरवको कुरा भएको बताए। ‘नेपालको मौलिकता, संस्कृति, परिकारलगायत नेपाल चिनाउने कुराको प्रबद्र्धन गर्न पाउनु ठूलो उपलब्धि हो,’ उनले भने।

यसले देशको अन्तर्राष्ट्रिय छवी र सद्भाव बढाउन तथा देशहरूबीच द्धिपक्षीय तथा बहुपक्षीय आर्थिक सम्बन्धको प्रबद्र्धन गर्न सहयोग पुग्ने आइजी ग्रुपका अन्तर्राष्ट्रिय निर्देशक विनायक शाह बताउँछन्। उनले ‘नेपाल डे’ लाई सफल बनाउन नेपालबाट उच्चस्तरीय प्रतिनिधि दुबई आइपुग्ने जानकारी दिए। ‘उच्चस्तरीय प्रतिनिधिमा मन्त्रीदेखि व्यापारीहरूको संलग्नता रहन्छ। हामीले प्रधानमन्त्रीलाई पनि निम्तो गरेका छौं,’ विनायक भन्छन्।

आइजी ग्रुपका अध्यक्ष शाक्य ‘नेपाल–डे’ ‘दुबई–एक्स्पो’ को मुख्य पवेलियनमा मनाइने बताउँछन्। ‘हामीले यसका लागि उच्च तयारी गरिरहेका छौं। ‘नेपाल डे’ मा नेपालको मौलिकता अवलोकन गर्न विश्वभरिका थुप्रै पर्यटक आउने आशा छ,’ अध्यक्ष शाक्यले भने।