रोष्टरमा रहेका बाँकी ४२५ जनालाई रोजगारी दिलाउन इजरायली राजदूतसँग श्रममन्त्री श्रेष्ठको आग्रह

रोष्टरमा रहेका बाँकी ४२५ जनालाई रोजगारी दिलाउन इजरायली राजदूतसँग श्रममन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेट भएको छ। मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालिन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गरे । केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेका निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत

रोजगारीको पहल गर्न आग्रह गरे।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरे । मन्त्री श्रेष्ठले पूर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको बताए ।

पछिल्लो समय नेपालबाट इजरायलमा गइ काम गर्ने नेपाली कामदारको संख्या उल्लेखनीय रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशाा गर्दै आइरहेको बताए । उनले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणमा सहयोग पु¥याएको बताए।

राजदूत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताएका थिए । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ।

अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन । नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग कुटनीतिक सम्वन्ध स्थापित गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो।