‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

‘दुबई एक्सपो’मा झल्कियो नेपालको मौलिक संस्कृति

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालको मौलिक संस्कृति झल्किएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किएको हो।

नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाइमा किरात राई यायोक्खा समूहले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाकासाथ मौलिक झाँकी प्रस्तुत गरेको हाे।

झाँकी प्रस्तुतीको उक्त दृश्य कम लोभ लाग्दो थिएन । माैलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकीहरुको प्रदर्शनीले कार्यक्रम स्थल नेपालमय बनेको थियो।

नेपाली टोलीले प्रर्दशन गरेको झाँकीले ‘दुबई एक्सपो’मा आएका सयौँ विदेशी पयर्टकको ध्यान खिचेको थियो । नेपाली प्रस्तुतीलाई अन्तर्राष्ट्रिय मिडियाहरुले पनि शिेष प्राथमिकता दिएका थिए । पत्रकारले निकै चासोको साथ झाँकीको फोटो तथा भिडियो कैद गरे।

आदिवासी जनजाति महासंघ यूएईका संरक्षक तथा एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले कार्यक्रमको नेतृत्व गरेका थिए। शेर्पाका अनुसार अब प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्नेछन् । ‘जनजाती महासंघको अगुवाइमा प्रत्येक शुक्रबार यूएईमा रहेका विभिन्न जात–जातिका संघ–संस्थाले आफ्नो मौलिक संस्कृति प्रर्दशन गर्ने कार्यक्रम बनाएका छौँ,’ शेर्पाले भने, ‘पहिलो दिनको कार्यक्रम एकदमै राम्रो भयो, हामी थप उत्साहित छौँ।’ शेर्पाले आगामी कार्यक्रम थप व्यवस्थित र रोचक हुने बताए।

‘दुबई एक्सपो’ जस्तो विश्व स्तरीय मञ्चमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सिंगो देशको लागि गौरवको विषय भएको शेर्पाको भनाइ छ । ‘नेपालका हरेक जातजातिको पहिचान उसको संस्कृति, भेषभुषा र कलासँग छ। त्यसैले यस्ता संस्कुतिलाई बढि पहिचानमा ल्याउन यस्ता कार्यक्रम जरुरी छ,’ शेर्पा भन्छन्, ‘नेपाली मौलिक संस्कृति विश्वसामू चिनाउन ‘दुबई एक्सपो’ मह्त्वपूर्ण प्लेटफर्म हो ।’

दुबई एक्सपो’ मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ। ‘दुबई एक्सपो’ का लागि नेपाललाई २१३ वर्ग फिटको ठाउँ छुट्टयाइएको छ।

‘दुबई एक्स्पो’को लागि २ हजार वर्ग मिटरमा काष्ठमण्डप बनाउन नेपाललाई यूएई सरकारले अस्ट्रेलिया पेविलियनसँगै जमिन दिएको थियो । यूएईको लागि नेपाली राजदूत कृष्प प्रसाद ढकालले भुमिपुजन पनि गरिसकेका थिए । तर, कोरोना महामारीका कारण काष्ठमण्डप यूएई ल्याउन सम्भव भएन।

काष्टमाण्डप यूएई ल्याउन नसकिए पनि विश्व समुदायमाझ नेपाललाई चिनाउन २१३ वर्ग मिटरकै पेविलियन भए पनि प्रयोग गरेर नेपाली मौलिकतालाई प्राथामिकचाका साथ प्रस्तुत गरिएको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपका अमृत रत्न शाक्यले बताए।