बहराइनको ‘रातो सूची’बाट हट्यो नेपाल

बहराइनको ‘रातो सूची’बाट हट्यो नेपाल

मान्मा । बहराइन सरकारले नेपाललाई कोभिड संक्रमणको ‘उच्च जोखिम’ (रेड लिष्ट) सूचीबाट हटाएको छ । बहराइन सरकारले ‘रातो सूची’ मा राखेका नेपाललगायतका मुलुकलाई १४ नोभेम्बर शनिवार राती १२ बजेदेखि उक्त सूचीबाट हटाउने घोषणा गरेको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अब विश्व स्वास्थ्य संगठनद्धारा मान्यता प्राप्त खोप लगाएका नेपालीले बहराइनमा सहजै प्रवेश पाउने भएका छन् । यसरी खोपका दुवै डोज लगाएका नेपाली बहराइन प्रवेश गरेपछि होटल क्वारेन्टाइनमा बस्नु पर्नेछैन। यसअघि १० दिनसम्म अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने प्रावधान थियो । यात्रुहरुले ‘क्यूआर कोर्ड’ सहितको अंग्रेजी भाषामा जारी भएको खोप प्रमाणपत्र भने साथमा बोक्नु पर्नेछ ।

खोप नलगाएका वा खोपको डोज पूरा नगरेका यात्रुहरुले भने निवास वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेका स्थानमा क्वारेन्टाइन बस्नुपर्ने दूतावासले जनाएको छ।

बहराइन प्रवेश गरेका सबै यात्रुले विमानस्थलमा, पाँचौ तथा दशौं दिनमा पोलिमरेज चेन रियाक्सन (Polymerase chain Reaction) परिक्षण गर्नुपर्नेछ। यसका लागि BeAware Bahrain एपमार्फत परिक्षण समय माग गर्नुपर्नेछ।

बहराइनले लामो समयदेखि नेपालसहित विभिन्न २१ मुलुककलाई उच्च जोखिममा राखेको थियो।