मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु सांकेतीक तस्वीर

सोलुखुम्बु- जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ।

हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनकाअनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत् उद्धार गरी पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

शव परीक्षणका लागि काठमाडौं लैजाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको छ।