यूएईमा २७ युवालाई अलपत्र बनाउने मेनपावरको धम्की- म कांग्रेसको केन्द्रीय सदस्य हुँ, के गर्छस्?

यूएईमा २७ युवालाई अलपत्र बनाउने मेनपावरको धम्की- म कांग्रेसको केन्द्रीय सदस्य हुँ, के गर्छस्?

दुबई । नेपालीमा एउटा उखान छ नि- जो चोर, उसैको ठूलो स्वर। यस्तै ठूलो स्वर अहिले एउटा मेनपावर कम्पनीको देखिएको छ। गत मंगलबार प्रवास खबरले भिजिट भिसाको नाममा २७ नेपालीलाई रोजगारी दिलाउने प्रलोभन दिएको समाचार सम्प्रेषण गरेको थियो।

समाचार संयुक्त अरब इमिरेट्स (यूएई) मा विगत एक महिनादेखि अलपत्र २७ नेपालीको विषयमा थियो। काठमाडौंको टोखा–सरस्वतीमा रहेको ‘फरेभर ह्युमन रिसोर्स’ले यी नेपालीलाई राम्रो तलबमा काम दिलाइदिने भन्दै भिजिट भिसामा यूएई पुर्‍याएको थियो।

तर, यूएई पुगेको एक महिना बितिसक्दा पनि यी नेपालीहरूले काम पाएका छैनन्। अझ, उनीहरूलाई यूएईको अजमानस्थित एउटा घरमा लगेर राखेका पाकिस्तानी एजेण्ट पहिलो दिनदेखि नै गायव हुँदा सबै नेपाली अलपत्र परेका छन्।

उनीहरूलाई राखिएको घरको भाडा नतिर्दा १५ दिनमा सबैलाई बाहिर निकालिएको छ। खल्तीमा पैसा नहुँदा खान र बस्न नपाएका यी नेपालीलाई यूएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सेल्टरमा राखेको छ।

नेपालस्थित मेनपावर कम्पनीलाई फोन गर्दा उल्टै उनीहरूले धाकधम्की दिन थालेका छन्। ‘फरेभर ह्युमन रिसोर्स’ का सञ्चालक भिमराज राईसँग दुबईबाट अलपत्र परेका नेपालीहरूको विषयमा जानकारी दिँदा उल्टै उनी सबैलाई धम्काउन थालेका छन्।

उनले आफू नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएको भन्दै सबैलाई धम्काएका हुन्। उनले एनआरएनएका पदाधिकारीहरू ठग भएको उल्टो आरोप लगाएका छन्। उनले एनआरएनए पदाधिकारीलाई कमिसनखोर भन्दै गाली बेइज्जती पनि गरेका छन्।

यस्तै, मेनपावर कम्पनीका अर्का प्रतिनिधि रवीन्द्र राईले नेपालमा चुनाव आउन लागेको छ भन्दै प्रहरीलाई डेढ लाख दिने, गुण्डालाई पचास हजार दिने र राजनीतिक पार्टीलाई दुई लाख फ्याँकिदिने, तर पीडितलाई एक दिराम पनि नदिने धम्की दिएका छन्।

यूएई पुगेका यी नेपालीलाई प्याकिङमा काम लगाइदिने प्रलोभनमा १ लाख ७० हजारदेखि २ लाख ५० हजारसम्म मेनपावर कम्पनीले असुलेको थियो।

भिडिओ-