‘भिजिट भिसा’मा यूएई पुर्‍याइएका नेपालीको रोदन : २ लाख ५० हजारसम्म असुल गरेर विचल्लीमा पारे

‘भिजिट भिसा’मा यूएई पुर्‍याइएका नेपालीको रोदन : २ लाख ५० हजारसम्म असुल गरेर विचल्लीमा पारे

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) मा विगत एक महिनादेखि आफूहरूलाई बिचल्लीमा परेको म्यानपावर कम्पनीलाई नेपाल सरकारले अविलम्ब कारवाही गरोस् तथा आफूहरूलाई नेपाल फर्किने वातावरण तयार पारोस् भन्ने माग राखेका छन्।

उनीहरूले भिजिट भिसामा राम्रो रोजगारी दिलाउने आश्वासन दिँदै आफूहरूलाई यूएईमा अलपत्र पारेको बताएका छन्। काठमाडौंको टोखा सरस्वतीस्थित ‘फरेभर ह्युमन रिसोर्स’ कम्पनीले यूएईमा राम्रो रोजगारी दिलाइदिने आश्वासन दिँदै २७ जनाबाट १ लाख ७० हजारदेखि २ लाख ५० हजारसम्म असुलउपर गरेको उनीहरूले बताए।

तर, यूएई आएपछि म्यानपावर कम्पनीले आफूहरूसँग राम्रो व्यवहार नगरेको, एक महिनासम्म रोजगारी दिन नसकेको र विदेशमा विचल्लीमा पर्दा उल्टै धाकधम्की दिएको आरोप उनीहरूले लगाएका छन्।

प्रवास खबरसँग कुराकानी गर्दै पिडितमध्येका एक तिलक साउदले भने, ‘हामीलाई एयरपोर्टमा एक जना पाकिस्तानी लिन आएका थिए। उनले हामीसँग भएको पैसा लिएर एउटा घरमा लगेर राखे। यसपछि उनी देखिएका छैनन्।’

साउदले अजमानमा आफूहरूलाई छोडेको र १५ दिनपछि राखेको घरबाट निकालिएको जानकारी पनि दिए। ‘न कामको पत्तो छ। उल्टै १५ दिनपछि हामीलाई राखिएको घरबाट पनि निकालियो,’ उनले दुःखेसो पोखे।

यसबीच आफूहरू म्यानपावर कम्पनीको सम्पर्कमा लगातार रहेको तर उल्टै गाली गर्ने गरेको उनले बताए। ‘हामीलाई प्याकिङमा जागिर दिने भनेर १ लाख ७० हजारदेखि २ लाख ५० हजारसम्म असुलेका थिए,’ उनले भने, ‘भिजिट भिसामा गएपनि तपाईहरूलाई एयरपोर्टमा कम्पनीकै मान्छेले रिसिभ गर्छ भनियो। तर, यहाँ तनाव दिने काम मात्र भयो।’

घरबाट निकालिएको पन्त्र दिनपछि आफ्नो हालखबर बुझ्न कोही नआएपछि आफूहरू बाध्य भएर एनआरएनए यूएई शाखाको शरणमा पुगेको उनीहरूले बताए।

‘अहिले एनआरएनए यूएई शाखाले नै हाम्रो खाने र बस्ने व्यवस्था गरेको छ,’ उनले प्रवास खबरसँग अपील गरे, ‘नेपाल पत्रकार महासंघबाट हामीलाई उद्धार गर्न सकिन्छ कि सकिन्न?’