प्रो. रमजान मियाँको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक

प्रो. रमजान मियाँको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक

काठमाडौ। कतारलाई कर्मथलो बनाउँदै आएका प्रो.मोहम्मद रमजान अली मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक भएको छ।

सोमबार उपराष्ट्रपति नन्द बहादुर पुनले हरितगृह, लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा भव्य कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरेका हुन्। ‘सुन्दर ढंगले, अत्यन्त मिहिनेत गरेर लेखिएको यो पुस्तक राजनीतिकर्मी, श्रमिक, विद्यार्थी लगायत सवै वर्ग, तह, तप्काका लागि उपयोगी छ,’ उपराष्ट्रपति पुनले भने ‘रोजगारका लागि कतार गएका नेपालीको तथ्यपरक रुपमा व्याख्या गरिएको छ। नेपालीको इतिहास, योगदान र संघर्ष यसमा समेटिएको छ।’

त्यसबाहेक कतारको इतिहास, प्रगति, वैभव, विकासवारे लेखकको भावना छताछुल्ल भएको उनले बताए। ‘यो पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा हो,’ पुस्तकबारे टिप्पणी गर्दै ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुली ढकालले भनिन्, ‘लेखकले राजदूतको काम गर्नुभएको छ।’

पुस्तकले समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषय उजागर गरेको पनि उनले बताइन्। ‘सन् २००७ को अप्रिलदेखी २०२१ नोभेम्बर १ बीच लेखेको पुस्तक हो, मैले देखेको कतार,’ लेखक मियाँले सुनाए, ‘यो पुस्तक कतार नेपाल जोड्ने पुल हो।’

उनले नेपालीलाई श्रमिक नभएर समृद्ध कतारका सहयात्री भनेर टिप्पणी गरे। सन् २०२० सम्म कतारमा २ हजार ५ सय ७७ जना नेपालीले ज्यानको आहुती दिइसकेकाले नेपालीको श्रमको उच्च मूल्यांकन हुनुपर्नेमा उनले जोड दिए।
‘कतारले नेपाललाई धेरै सहयोग गर्न चाहेको छ,’ लेखक मियाँले भने ‘कतारले नेपाललाई चिन्यो। तर, नेपालले कतारलाई चिनेन।’

पुस्तकमा आफूले देखे, भोगेका कथा समेटिएको उनले बताए। नेपाल कतार बुझ्न यो पुस्तक इन्साइक्लोपेडिया नै भएको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए। ‘कतार अझै पनि विकासका लागि छट्पटिएको देखिन्छ,’ ढकालले भने, ‘नेपालको सामाजिक संरचना नमिलेर हो। यार्सागुम्बा बेच्ने कर्णाली, मार्सि बेच्ने जुम्ला कसरी गरिव हुन्छ ?’

यस्तै पुस्तकबारे मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारी, संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैन, नेकपा समाजवादी एवं केन्द्रिय हज समितिका पूर्वअध्यक्ष ताज मोहम्मद मियाले आआफ्नो धारणा राखेका थिए। पुस्तकको मूल्य ७५० र हार्ड कभरको १५ सय रुपैंयाँ राखिएको छ। यस पुस्तकबाट प्राप्त लाभांस आर्थिक विपन्नताका कारण अंग्रेजी पढ्न नपाएका इस्लामिक मदरसाका वालवच्चाहरुको अध्ययनमा खर्च गरिने बताइएको छ।