यूएई भ्रमण सकेर स्वदेश फर्किए श्रममन्त्री श्रेष्ठ

यूएई भ्रमण सकेर स्वदेश फर्किए श्रममन्त्री श्रेष्ठ

काठमाडौं- छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ स्वदेश फर्किएका छन्।

कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न डाइलगमा सहभागी हुन मन्त्री श्रेष्ठ कात्तिक ७ गते दुबई प्रस्थान गरेका थिए।

श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि आयोजित‘आबुधाबी डायलग’मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा मन्त्री श्रेष्ठले सम्बोधन गरेका थिए।

उनले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए। उनले कोरोना भाइरसको महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै नि: शुल्क खान-बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा नि:शुल्क पीसीआर परीक्षण, नि:शुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र नि:शुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए।

यूएई भ्रमणका क्रममा मन्त्री श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको थियो। सो क्रममा नेपाल-यूएई द्विपक्षीय बैठक आयोजना गर्ने, यूएई जाने नेपाली कामदार लक्षित सीपमुलक तालिम सञ्‍चालन गर्ने, इञ्‍जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार यूएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो।