नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न

काठमाडौं । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक शुक्रबार भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गरेका भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए । प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह मन्त्रालयका साथै नेपाली सेना र भारतीय सेना तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो ।

यसैबीच, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ तुल्याउन उपयोगी रहेको तथा द्विपक्षीय सुरक्षा चसोका विषयलाई सम्बोधन गर्न फलदायी भएको जनाएको छ । दुई पक्षीय सुरक्षा चासोका विषयमा सहसचिवस्तरमा छलफल गर्न १८ वर्षअघि गठन भएको नेपाल–भारत परामर्श समूहको कोभिड–१९ को महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेको थिएन ।रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *