भिजिट भिसाका दलालहरू निकै संगठित छन् : श्रम मन्त्री श्रेष्ठ

भिजिट भिसाका दलालहरू निकै संगठित छन् : श्रम मन्त्री श्रेष्ठ

आबुधाबी। ‘आबुधाबी डाइलग’ मा भाग लिन यहाँ आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसन) ले भिजिट भिसाका दलालहरू निकै संगठित भएको दावी गरेका छन्।

उनले ‘आबुधाबी डाइलग’ मा भाग लिन नेपालबाट दुबई आउने क्रममा दलालहरूले कसरी संगठित रूपमा काम गरिरहेका छन्, त्यसको दृष्टान्त सुनाए। बुधबार बेलुका आबुधाबीस्थित नेपाली दूतावासमा विभिन्न संघ–संस्थाका प्रतिनिधिबीच गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भिजिट भिसा प्रकरण ‘ओपन सेक्रेट’ भएको बताए। उनले त्रिभुवन विमानस्थलमा आफूले भोगेको अनुभव यहाँका अगुवासँग राख्ने क्रममा भने, ‘भिजिट भिसाको काम निकै संगठित रूपमा भइरहेको छ।’

उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘हामी यहाँ आउनलाई टिकट खोज्दा, टिकटै छैन भनियो। तर, प्लेन चढ्दा प्रायः सिट खाली थियो।’

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली अगुवाहरूले भिजिट भिसाको समस्याले गर्दा नेपालीहरू अलपत्र परेको मन्त्रीलाई अवगत गराएका थिए। उनीहरूले यो कार्यलाई तत्काल रोक्न मन्त्री श्रेष्ठसँग माग पनि गरेका थिए।

अगुवाहरूको चिन्तालाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको रोचक घटना प्रस्तुत गर्ने क्रममा भने, ‘यति व्यवस्थित रुपमा लागेका छन नि दलालहरु! हाम्रो उडान १ बजेर ४० मिनेटमा थियो। म र सचिवज्यू १० बजे नै विमानस्थल पुगेका थियौं। यतिबेला हामीले श्रम डेस्कदेखि अध्यागमनसम्म पुगेर निरीक्षण गर्‍याैँ। करिब ५०–५२ को संख्यामा दुबई आउनेहरू ‘रिइन्ट्री’ हुन लागेका रहेछन्। भिजिट भिषामा दुबई उड्ने मानिस भेटिएनन्। यसको मतलब दलालहरु कतिसम्म संगठित छन् भन्ने प्रष्ट हुन्छ।’

उनले आफ्नो भ्रमण हुन लागेको कारण भिजिट भिसामा आउने व्यक्तिको टिकट दलालहरूले सारेको स्पष्ट पार्न खोजेका थिए। ‘सबै कुरा खुल्लमखुल्ला भइरहेको छ,’ उनले भने, ‘तपाईहरूले म बाट धेरै आशा गर्नु भएको छ। म जे कुरा बोल्छु, त्यही गर्ने व्यक्ति हो। त्यसैले यसलाई रोक्न काम गर्छु।’

श्रम मन्त्रीस्तरीय सम्मेलन ‘आबुधाबी डाइलग’ मा भाग लिन मन्त्री श्रेष्ठसहितको ३ सदस्यीय नेपाली टोली आइतबारदेखि यूएईमा छ।

श्रममन्त्री श्रेष्ठ र यूएईमा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिबीच दूतावासमा अन्तरक्रिया