श्रम मन्त्री श्रेष्ठले यूएईको जेलमा रहेका नेपालीसँग भेट गर्ने

श्रम मन्त्री श्रेष्ठले यूएईको जेलमा रहेका नेपालीसँग भेट गर्ने

काठमाडौँ। श्रम मन्त्री किशन श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित जेलमा रहेका नेपालीसँग पनि भेट गर्ने योजना बनाएका छन्। यूएईमा आयोजना हुने ‘अबुधाबी डाइलग’ मा भाग लिन आइतबार दिउँसो त्यसतर्फ उडेका मन्त्री श्रेष्ठले प्रवास खबरसँग भने, ‘समय मिलाएर जेलहरूको पनि भ्रमण गर्नेछु।’

‘अबुधाबी डाइलग’ मा भाग लिन मन्त्रीसहित श्रम मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम र वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप–सचिव डा. थानेश्वर भुसाल पनि सँगै उडेका छन्।

‘लेबर सेन्डिङ’ (रोजगार पठाउने) र रिसिभ गर्ने (लिने) देशबीच यूएईको श्रम मन्त्रालयले यो कार्यक्रम आयोजना गर्छ। ‘आबुधाबी डाइलग’ मा श्रमिक पठाउने प्रत्येक देशका श्रम मन्त्री सहभागी हुने चलन अनुसार श्रेष्ठ त्यसतर्फ लागेका हुन्। कार्यक्रम सोमबारदेखि सुरु हुँदैछ।

मन्त्री श्रेष्ठले यही कार्यक्रमका बीच समय मिलाएर आबुधाबीस्थित नेपाली दूतावासमा नेपाली संघ–संस्थाका प्रतिनिधिसँग भेटर्वार्ता गर्ने जानकारी पनि दिए। ‘नेपाली संघसंस्थाका प्रतिनिधिलाई भेटेर नेपाली कामदारले भोग्नु परेका समस्याबारे पनि जानकारी लिनेछु,’ उनले भने।

छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा नेपालले वैदेशिक रोजगारमा जाने नेपालीलाई सीपयुक्त बनाउन गन्तव्य देशहरूलाई लगानी गर्न आग्रह गर्ने भएको छ । त्यसका साथै नेपालभित्र सिकेको सीपलाई मान्यता दिनुपर्ने विषयलाई पनि महत्वका साथ उठाइने मन्त्री श्रेष्ठको भनाइ छ ।



No ads found for this position