विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने छ : प्रधानमन्त्री देउवा

विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने छ : प्रधानमन्त्री देउवा

बिराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताए। प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए ।

उनले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिए।

उनले पीडितलाई तत्काल राहतका निम्ति अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा भएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले जानकारी दिए। उनका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार छन् ।