शाहरुखको छोराको ‘ड्रग्स’ मुद्धामा अनन्यासँग लगातार सोधपुछ

शाहरुखको छोराको ‘ड्रग्स’ मुद्धामा अनन्यासँग लगातार सोधपुछ

मुम्बई। बलिउड नायिका अनन्या पाण्डेले भारतको लागु औषधविरोधी कार्यालय (एनसीबी) समक्ष आफूले शाहरुख खानका छोरा आर्यनलाई ‘गाँजा’ उपलब्ध नगराएको बताएकी छिन्।

बलिउड सुपरस्टार शाहरुखका छोरा आर्यनलाई एनसीबीले ‘ड्रग्स’ को मुद्धामा पक्राउ गरेपछि अनन्यासँग विगत दुई दिनदेखि सोधपुछ भइरहेको छ। आर्यन र अनन्याबीच ‘ड्रग्स’ को विषयमा भएको च्याटलाई लिएर एनसीबीले बिहीबार र शुक्रबार सोधपुछ गरेको थियो।

एउटा च्याटमा अनन्याले आर्यनलाई आफूले गाँजाको व्यवस्था गर्ने बताएकी थिइन्। यस विषयमा एनसीबीको टोलीले अनन्यासँग बयान लिन खोजेको थियो, जसमा उनले आफूले ठट्टा गरेको बताएकी थिइन्। भारतीय अखबारका अनुसार अनन्याले आर्यनसँगको कुराकानी चुरोटलाई लिएर भएको बताएकी थिइन्।

अनन्याले आफूले ‘ड्रग्स’ कहिल्यै नलिएको र कसैलाई उपलब्ध पनि नगराएको बताएकी थिइन्। उनले गाँजा पनि ‘ड्रग्स’ मा पर्छ भनेर आफूलाई थाहा नभएको पनि बताएकी थिइन्।

प्रहरीले मुम्बईस्थित अनन्याको घरमा बिहीबार छापा हानेर उनको ल्यापटप र मोबाइल अनुसन्धानका लागि लगेको थियो। अनन्या बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन्।