लाल किशोरको हत्यापछि अमेरिकामा राज्य पुलिसप्रति स्थानीयको असन्तुष्टी बढ्दै

लाल किशोरको हत्यापछि अमेरिकामा राज्य पुलिसप्रति स्थानीयको असन्तुष्टी बढ्दै

फल रिभर। नेपाली मूलका व्यवसायी लाल किशोर महासेठको हत्या भएको ४ दिन वितिसक्दा पनि स्थानीय प्रहरीले अभियुक्त पक्राउ गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टी जाहेर गरेका छन्।

५४ वर्षीय महासेठको सोमबार राती आफ्नै शुलभ पसल ‘स्टप एन सेभ’ मा अपरिचित एक युवाले गोली हानेर हत्या गरेको थियो। पैसा लुट्ने उद्देश्यले भएको यो विभत्स घटनाको जानकारी दिन प्रहरीले स्थानीयको नाममा सूचना सार्वजनिक गरिसकेको छ।

तर, हत्यारा अझै पत्ता लगाउन नसकेपछि म्यासाच्युसेट्स राज्य प्रहरीको आलोचना तिब्र बन्न थालेको हो।

म्यासाच्युसेट्समा यो वर्ष काम गर्ने ठाउँमा कुनै व्यक्तिको हत्या भएको यो तेस्रो घटना हो। गत जुनमा हुम्बेर्टो सान्तोष र जेम्स हिलम्यानको पनि हत्या भएको थियो।

पछिल्लो समय राज्यमा बढिरहेको हत्या प्रकरणलाई रोक्न प्रहरी असफल भएको भन्दै असन्तोषको स्वर बढेपछि प्रहरीले रातीको समय सुरक्षा व्यवस्थालाई बढाएको स्थानीय न्युज एजेन्सीले बताएका छन्।

महासेठको सोमबार राती १० बजेर ३३ मिनेटमा हत्या भएको थियो। स्थानीय चाल्र्टन मेमोरियल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको निधन भएको अस्पतालले जानकारी दिएको थियो।

म्यासाच्युसेट्समा सन् २०१५ मा ३३ कामदारले काम गरिरहेको अवस्थामा ज्यान गुमाएका थिए। सन् २०१८ को राष्ट्रिय तथ्यांक अनुसार म्यासाच्युसेट्स राज्य काम गर्ने ठाउँमा हिंसाजन्य गतिविधि हुने अमेरिकाको तेस्रो राज्यको सूचीमा पर्छ।

लाल किशोरको हत्यामा संलग्न एक व्यक्तिको स्केच प्रहरीले मंगलबार सार्वजनिक गरेपनि उनलाई हालसम्म पक्राउ गर्न सकेको छैन।

प्रहरीले संदिग्ध व्यक्तिको हातमा ट्याटु खोपेको, उचाई लगभग ५ फिट ७ इन्ची भएको र उमेर २० देखि ३० वर्षको बीचमा रहेको जानकारी मात्र उपलब्ध गराउन सकेको छ।