अफगानिस्तानमा जुनियर महिला भलिबल खेलाडीको हत्या

अफगानिस्तानमा जुनियर महिला भलिबल खेलाडीको हत्या

काबुल। अफगानिस्तानमा एक महिला भलिबल खेलाडीको क्रुरतापूर्वक टाउको काटेर मारिएको पुष्टी भएको छ। अफगानिस्तानमा तालिबानको सत्ता आउने वित्तिकै यस्तो पशुवत व्यवहार देखिएको हो।

हत्या गरिएकी महिला भलिबल खेलाडी जुनियर राष्ट्रिय टोलीको सदस्य भएको जनाइएको छ। अफगान महिला भलिबल टिमका प्रशिक्षकले महजवीन हाकिमी नाम गरेकी जुनियर महिला भलिबल खेलाडीको अक्टुबर महिनाको सुरुवातमा घाँटी रेटेर मारिएको पुष्टी गरेका हुन्।

तालिबान लडाकुले यस विषयमा कसैसँग कुरा नगर्न परिवारलाई धम्की दिएका कारण सबै कुरा बाहिर नआएको बताइएको छ।

यसअघि अशरफ गनी सरकारको पालामा महजवीनले काबुल नगरपालिका भलिबल क्लबमा अनुबन्धित भएर खेलेकी थिइन। उनी क्लबको स्टार खेलाडी भएको बताइएको छ।

महजवीन अफगानिस्तानको हजारा जातीसँग आवद्ध थिइन। हजारा अफगानिस्तानको अल्पसंख्यक जातिमा पर्छ। सुन्नी मुसलमानहरूको बाहुल्य रहेको अफगानिस्तानमा १० प्रतिशत मुसलमान शिया र बाँकी हजारा छन्। तालिबान र इस्लामिक स्टेट सुन्नी छन्।

हजारा मंगोलिया र मध्य एसियाली मूल तथा मंगोलियाका पूर्व शासक चंगेज खानको वंशज मानिन्छन्। चंगेज खानले १३ शताबदीमा अफगानिस्तानमा आक्रमण गरेका थिए। यो जाती धेरै जसो मध्य अफगानिस्तानको पहाडी क्षेत्रमा बसोबास गर्छन। जसलाई हजारिस्तान भनेर पनि सम्बोधन गर्ने गरिन्छ।

संयुक्त राष्ट्र संघले २०१८ मा प्रकासित गरेको रिपोर्टमा तालिबानले अफगानिस्तानमा धेरै जसो अल्पसंख्यक जातीलाई आफ्नो निशाना बनाएका छन्। भलिबल टिमका प्रशिक्षकले तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि धेरै महिला खेलाडी भाग्न सफल भको तर महजवीन त्यही बसेका कारण यो घटना भएको बताएका छन्।