अस्ट्रेलियामा लोग्नेको हत्या गर्ने नेपाली महिलालाई ३ वर्ष जेल सजाय

अस्ट्रेलियामा लोग्नेको हत्या गर्ने नेपाली महिलालाई ३ वर्ष जेल सजाय

सिड्नी। दुई वर्षअघि पतिको हत्या मामिलामा नेपाली मूलकी नुमा गौतमलाई अस्ट्रेलियाको अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ।

२३ नोभेम्बर २०१९ मा आफ्नो पति सन्तोष गौतमलाई भान्सामा प्रयोग हुने चक्कु प्रहार गरेको मामिलामा अदालतमा मुद्धा चलिरहेको थियो।

विश्वव्यापी कोरोना संक्रमणका कारण केही ढिलो गरि भएको सुनुवाईमा अदालतका न्यायाधीसले नुमाले जानीजानी नभई भवितब्य चक्कु प्रहार गर्नुपरेको ठहर गरेपछि उनको सजाय कम भएको हो।

आपसी कलह झगडामा परिवर्तन भएपछि चक्कु हानाहानको अवस्थामा पुगेको अदालतको भनाई थियो। अस्ट्रेलियाको ग्रानभिलमा भएको यो घटनामा रक्सीमा मातिएका सन्तोषले पहिले आफ्नो श्रीमतीलाई चक्कु प्रहार गरेका थिए। यसपछि रिसको झोंकमा नुमाले पनि चक्कु प्रहार गर्दा सन्तोषको निधन भएको अदालतको ठम्याई छ।

न्यायाधीस लियोनी फ्ल्यानरीले दिएको निर्णयमा गौतम दम्पतिबीच पैसाको विषयलाई लिएर केही वर्षदेखि झगडा हुँदै आइरहेको थियो। सन्तोषको अत्याधिक मदिरा पिउने बानीले यस्तो अवस्था सिर्जना भएको पनि निर्णयमा भनिएको छ। ‘पति हरेक बिहान रक्सी पिएर आउँथे र यौन सम्बन्ध बनाउन दबाब दिन्थे,’ निर्णयमा भनिएको छ।

सन्तोष र नुमाबीच सन् २००७ मा मागी बिहे भएको थियो। न्यायाधीस लियोनीको फैसलामा उल्लेख छ, ‘उनीहरूबीच पीडादायक यौन सम्बन्ध थियो। सन्तोषले कण्डम लगाउन नमान्दा नुमा ५ पल्ट गर्भवती भएकी थिइन्। सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पल्ट गर्भपतन गराउनु पर्‍यो।’

घटनाको दिन शनिबार सन्तोष साँझ घर फर्किएको र उनले ‘गुड फ्राइडे’ मनाउन २ हजार डलर खर्चेको थाहा पाएपछि लोग्ने र स्वास्नीबीच झगडा भएको थियो। यतिबेलै सन्तोषले भान्छामा रहेको चक्कुले नुमालाई प्रहार गर्दै घाइते बनाएका थिए। पछि नुमाले पनि सोही चक्कु प्रहार गर्दा सन्तोषको निधन भएको थियो।

३६ वर्षीय नुमालाई सजाय पुरा भएपछि अस्ट्रेलियन सरकारले नेपाल फिर्ता पठाउने सम्भावना रहेको छ। तर, नुमाले नेपाल फर्किएर परिवारसँग बस्ने वातावरण नभएको भन्दै अस्ट्रेलियन सरकारसँग अपील गर्न चाहेकी छिन्।