अमेरिकामा मारिएका महासेठको श्रीमतिलाई पनि २ पल्ट लुटेराले हमला गरेको खुलासा

अमेरिकामा मारिएका महासेठको श्रीमतिलाई पनि २ पल्ट लुटेराले हमला गरेको खुलासा

रिभर फल। अमेरिकाको म्यासाच्युट्सस्स्थित आफ्नै पसलमा मारिएका नेपाली मूलका लाल किशोर महासेठले मर्नुअघि श्रीमतीलाई फोन गरेको खुलासा भएको छ।

अमेरिकास्थित एक स्थानीय पत्रिकाका अनुसार फल रिभरको २०१ रक स्ट्रिटमा रहेको आफ्नो ‘स्टप एण्ड सेभ’ स्टोरमा सोमबार राती १० बजेर ३० मिनेटमा उनलाई एक अज्ञात युवाले गोली हानेका थिए।

गोली लाग्नुअघि उनी पसल बन्द गर्ने तयारीमा थिए। उनले केही समयअघि मात्र श्रीमतीलाई फोनसमेत गरेका थिए। महासेठ १५ वर्षअघि नेपालबाट अमेरिका पुगेका थिए। धनुषा घर भएका महासेठको तीन जना बालबच्चा छन्। अमेरिकामा उनको दुई वटा ‘स्टप एण्ड सेभ’ सुविधा पसल छ।

सन् २०१८ मा पनि उनको पसल लुटिएको थियो। सन् २०१८ मा महासेठले एनबीसी–१० न्युज एजेन्सीका ब्रायन क्रान्डललाई दिएको अन्तर्वार्तामा आफ्नो श्रीमतीलाई छुरा देखाएर पसल लुटिएको बताएका थिए। यस्तै, उनको श्रीमतीलाई २०१२ मा पनि काउन्टर पछाडि लुटेराले आक्रमण गरेका थिए।

सोमबार राती पसलको ढोका खुला देखेपछि नियमित खरिदार डायलन ओर्लोस्की भित्र छिर्दा छातीमा गोली लागेका ५४ वर्षीय महासेठ भूइँमा लडेको अवस्थामा भेटिए।
डायलनले तत्कालै स्थानीय प्रहरीलाई खबर गरेको र चाल्र्टन मेमोरियल अस्पताल लगिएको बताइएको छ। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

महासेठको हत्यापछि फल रिभरमा स्थानीयको आक्रोस छ। उनीहरूले स्थानीय सरकारले शान्ति सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरेका छन्। हत्या गरिएका महासेठ मृद्भाषी र सहयोगी भएको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन्।

प्रहरीले गोली हान्ने व्यक्तिको स्केच सार्वजनिक गरेपनि पक्राउ गर्न सकेको छैन। प्रहरीले मंगलबार नै सार्वजनिक सूचना जारी गर्दै शंकास्पद व्यक्तिहरूको जानकारी दिन आग्रह गरेको छ। प्रहरीका अनुसार गोली हान्ने व्यक्ति २० देखि ३० वर्षभित्रको रहेको र उनको उचाइँ ५ फिट ७ इन्ची बराबर बताइएको छ।