‘ब्रेन डेड’ भएकी एक महिलामा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

‘ब्रेन डेड’ भएकी एक महिलामा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

न्यूयोर्क- ‘ब्रेन डेड’ भएकी एक महिलामा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको ५४ घण्टा लामो शल्यक्रिया सफल भएको हो।

शल्यक्रियाको नेतृत्व गरेका डा रोबर्ट मोन्टगोमेरीका अनुसार प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य रूपमा काम गरिरहेको छ।

उनले मिर्गौलाबाट अपेक्षाकृत पिसाब बनाएको रोयटर्सलाई बताएका छन्। यो सफलता चिकित्सा विज्ञानमा कोसेढुङ्गा साबित हुन सक्ने बताइएको छ। यसले अङ्ग प्रत्यारोपणमा अङ्ग अभावलाई पूर्ति गर्ने विश्वास लिइएको छ।

यद्यपि यो चिकित्सा विज्ञानमा राम्रो सफलता भएपनि कतिपयले भने नैतिकताको प्रश्न पनि उठाएका छन्।

युनाइटेड नेटवर्क फर अर्गन सेयरिंगको अनुसार अमेरिकामा लगभग १ लाख ७ हजार विरामीहरु अंग प्रत्यारोपणको लागि पर्खिरहेका छन्। जसमा ९० हजारभन्दा बढी एक मिर्गौलाको प्रतीक्षा गरिरहेका छन्।