सैन्य ‘कू’ विरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेका सयौं बर्मेली कैदी रिहा

सैन्य ‘कू’ विरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेका सयौं बर्मेली कैदी रिहा

रंगुन- म्यानमारमा गत फेब्रुअरीमा भएको सैन्य ‘कू’ विरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेका सयौं कैदी रिहा गरिएको छ।

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन्।

रिहा हुनेमा आङ साङ सुकीको पार्टीका प्रवक्ता र प्रसिद्ध कमेडियन पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि म्यानमारको सैन्य सरकारले प्रदर्शनमा सहभागी हुने ५६ सयभन्दा धेरै कैदीलाई आममाफी दिने घोषणा गरेको थियो। सोमबार पनि देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको थियो।

मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार म्यानमारको जेल बाहिर अहिले धेरै मानिस प्रतीक्षामा छन्। उनीहरुले म्यानमारको सेनाले प्रदर्शनमा सहभागी हुने सबैजसो रिहा हुने अपेक्षा गरेका छन्।

सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा सहभागी हुनेबाहेक अन्य आपराधिक कार्यमा संलग्न कैदी पनि रिहा हुने बताइएको छ।