माल्दिभ्समा नेपालीहरूको भब्य दशैं (तस्बिरहरु)

माल्दिभ्समा नेपालीहरूको भब्य दशैं (तस्बिरहरु)

माले (मालदिभ्स)- टापुको देश भनेर चिनिने माल्दिभ्समा नेपालीहरूले आफ्नो चाड बडादशैं धुमधामसँग मनाएका छन्।

मुस्लिम देश भएपनि माल्दिभ्समा नेपालीहरूले आफ्नो चाडपर्व धुमधामसँग मनाउँदै आइरहेका छन्।

माल्दिभ्समा हाल १२ हजारको संख्यामा नेपाली रहेको अनुमान गरिन्छ। गत शुक्रबार बडादशैंको शुभसाइत १० बजेर २ मिनेटमा जाँदा यहाँ कार्यरत नेपालीले एकआपसमा टिका तथा जमरा ग्रहण गरेका थिए।

आफन्तसँग धेरै टाढा भएपनि उनीहरूले एकआपसमा मिलेर टिका थापेको मालेस्थित ‘द एभरेस्ट होटल’ का लगानीकर्ता सागर अधिकारीले प्रवास खबरलाई जानकारी दिए। उनले माल्दिभ्सलगायत यहाँ आउने विदेशी पर्यटकलाई नेपाली खानाको स्वाद चखाउन सार्क शिखर सम्मेलन भएको ठाउँ नजिकै तीन वर्षअघि होटल खोलेका थिए।

करिब ५० को हाराहारीमा नेपालीहरू ‘द एभरेस्ट होटल’ मा बसेर टिका तथा जमरा ग्रहण गरेको होटलका सञ्चालक यमप्रसाद अधिकारीले जानकारी दिए। ‘यहाँ टिका, जमरा र प्रसाद ग्रहण गरेपछि अरु ठाउँमा रमाइलो गर्न गएका थिए,’ उनले भने।

नेपालीहरूले खसी काटेर हुलुमाले पार्क, भिलिङगिलीमा पनि दशैं मनाएको सागरको भनाई थियो। ‘सबै ठाउँमा ५०–५० जनाको ग्रुप बनाएर दशैं मनायौं,’ उनले भने।
दशैं मनाउन यहाँको सरकारले रोकटोक गरेका थिएन। बरु कति कम्पनी र घरमा काम गर्ने नेपाली कामदारलाई दशैंको छुट्टि दिइएको थियो।