तालिवानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्न यूएनको आग्रह

तालिवानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्न यूएनको आग्रह

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले तालिवानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्न आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्नुपर्ने भन्दै तालिवानलाई उनले आफ्नो वाचा पालना आग्रह गरेका हुन्।

‘तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा अफगान नागरिक, महिला, बालबालिका, अल्पसङ्ख्यक समुदाय, पूर्व सरकारी कर्मचारीलगायतकाे अधिकारको रक्षा गर्ने वाचा गरेका छन्,’ उनले भने, ‘त्यो पूरा हुनुपर्छ।’

तालिबानले नागरिक अधिकारको रक्षा नगरे अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिने चिन्ता बढेको उनको भनाइ छ।

यता, अफगानिस्तानमा तालिवानले महिलालाई पढ्न रोक लगाएपछि त्यहाँका क्याम्पस सुनसान भएका छन्। पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले बताएका छन्।

तालिवान सरकारले महिलालाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ। छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन्।

विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ।

अफगानिस्तानमा तालिवान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि सरकार बनाउदै नयाँ र कठोर कानुनी व्यवस्था लागू गरेका छन्।