एनआरएनएले छिट्टै चुनावको नयाँ मिति तोक्ने

एनआरएनएले छिट्टै चुनावको नयाँ मिति तोक्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले यही अक्टुबर २३–२५ मा हुने भनिएको महाधिवेशन तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले प्रतिनिधि छनोटमा देखिएको बिबाद नसुल्भिएसम्म चुनाव स्थगित गर्न एनआरएनएलाई पत्र पठाएको थियो।

यसै सम्बन्धलाई लिएर आइतबार बसेको केन्द्रिय कमिटीको बैठकले आपसी बिबाद मिलाउने निर्णय गरेको थियो। अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकले मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको थियो। प्रवक्ता डिवी क्षेत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।’

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउने तयारीमा रहेका प्रतिनिधिलाई भएको असुविधाप्रति संघ क्षमा पनि मागेको छ। यस्तै बैठकले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना प्रकट गरेको छ।