मलेसियाको ‘टप ग्लोब’ कम्पनीमा एक नेपाली युवाको मृत्यु

मलेसियाको ‘टप ग्लोब’ कम्पनीमा एक नेपाली युवाको मृत्यु

क्वाललम्पुर । ‘टप ग्लोब कर्व बीएचडी’ ले आफ्नो फ्याक्ट्री परिसरमा एक प्रवासी श्रमिकको मृत्यु भएको बताएको छ।

टप ग्लोबका जन–सम्पर्क अधिकारीले बताएअनुसार सुरक्षा तथा पेशागत स्वास्थ्य विभागले बुधवार यसको पुष्टी गरेको हो। पुष्प तामाङ नाम गरेका ती श्रमिकको मृत्यु ४ अक्टोबर सोमबार बिहान भएको ‘टप ग्लोब’ ले बताएको छ।

मृत्यु के–कसरी भयो भन्ने विषयमा सुरक्षा तथा पेशागत स्वास्थ्य विभागले ‘टप ग्लोब’ को सहकार्यमा अनुसन्धान गरिरहेको बताएको छ। विभागले उनको मृत्युको विवरण प्राप्त गरेपछि मृतकको नजिकको नातेदार र अन्य कुनै सरोकारवालालाई जानकारी उपलब्ध गराउने बताएको छ।

यसै सन्दर्भमा ‘टप ग्लोब’ ले श्रमिकहरूको सुरक्षा तथा पेशागत स्वास्थ्यको लागि आफूहरु पूर्ण प्रतिबद्ध रहेको र यसको लागि मलेसिया सरकारले निर्दिष्ट गरेका नियम तथा मापदण्डहरूको पूर्णपालन गरेको बताएको छ।

‘टप ग्लोब’ ले श्रम शोषण गरेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूमा थुप्रै उजुरी परेको कम्पनी हो। विश्व चर्चित पञ्जा उत्पादक यस कम्पनीविरूद्ध मलेसियाको अदालतमा समेत मुद्धा दायर छ। श्रम शोषणका कारण अमेरिकालगायत देशले यस कम्पनीको उत्पादन खरिद बहिस्कार गरेको थियो।