चुनाव गैरआवासीय नेपालीको, ह्वीप लगाउँदै राजनीतिक पार्टीका नेता

चुनाव गैरआवासीय नेपालीको, ह्वीप लगाउँदै राजनीतिक पार्टीका नेता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व हत्याउने दाउमा रहेका पदाधिकारीको बोली र व्यवहारमा ‘आकाश–जमिन’ को फरक देखिन थालेको छ।

एनआरएनए राजनीतिक हस्तक्षेंप मुक्त हुनुपर्छ भनेर आवाज उठाउने पदाधिकारी नै यतिबेला संघमा चरम राजनीति घुसाउने अभियानमा लागेका छन्। विगतमा राजनीतिक आस्था एक ठाउँमा भएपनि संघको क्रियाकलापलाई विशुद्ध गैरआवासीय नेपालीको हक–अधिकारमा निहित हुनुपर्ने आवाज उठाउँदै आएका पदाधिकारी यतिबेला राजनीतिक कम्मल ओढ्न व्यस्त देखिन्छन्।

एनआरएनएको नेतृत्वमा आउने व्यक्तिले राजनीतिक जुत्ता बाहिरै फुकालेर संघमा प्रवेश गर्नुपर्ने तर्क राख्दै आएका व्यक्तिको यो हर्कतले गैरआवासीय नेपालीको अभियानमा गहिरो धक्का लागेको धेरैको बुझाइ छ।

एनआरएनएको निर्वाचन आउँदो अक्टोबरमा हुँदैछ। हालसम्म नेतृत्वका लागि रवीना थापा र कुल आचार्यले अध्यक्ष पदको घोषणा गरिसकेका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी डा. बद्री केसीले भने हालसम्म उम्मेदवारी घोषणा गरिसकेका छैनन्।

यसबीच मुलुकको कमान सम्हालिरहेको नेपाली कांग्रेसले औपचारिक पत्र नै काटेर अध्यक्ष पदका लागि कुल आचार्यलाई भोट हाल्न प्रवासमा रहेका जनसम्पर्क समितिलाई आब्हान गरेको छ। यसका लागि पार्टीले शीर्ष नेतालाई नै भोट माग्ने जिम्मेवारी तोकेबाट एनआरएनए राजनीतिक मुक्त हुन नसकेको सन्देश गएको छ।

नेपाली कांग्रेसबाट अर्थमन्त्री भइसकेका पार्टीका सह–महामन्त्री प्रकाश शरण महत तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी बहन गरिसकेका केन्द्रिय कमिटीका सदस्य गगन थापालाई युरोप क्षेत्रबाट कुल आचार्यलाई भोट मागिदिन गरिएको निर्देशनबाट राजनीतिक पार्टीका नेताहरू कति हल्का भइसकेछन् भन्ने सन्देश पनि विदेशमा बसोबास गर्ने नेपालीमाझ गएको छ।

पार्टीले एसिया क्षेत्र हेर्ने जिम्मेवारी पूर्वमन्त्री तथा केन्द्रिय सदस्य अर्जुननरसिंह केसी र अर्का केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई तोकेको छ। मध्यपूर्व, अफ्रिका तथा जनसम्पर्क समितिमार्फत भोट माग्नका लागि युवाहरूको भरोसाको केन्द्र मानिने विश्व प्रकाश शर्मा उत्रिनु आफैमा लाजमर्दो भएको छ। शर्मासँगै यो कमिटीमा गोविन्द भट्टराई पनि संलग्न छन्। ओसियाना क्षेत्रको जिम्मेवारी भने सुरेन्द्रराज पाण्डेलाई सुम्पिएको छ। अमेरिकाको जिम्मा भने पूर्वसूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले पाएका छन्। नेपाली कांग्रेसको यो हर्कतले एनआरएनएभित्र नेताहरूको बारेमा जगहँसाइ भइरहेको छ।

यसमा पनि देशको नेतृत्व हाक्ने नेताहरू यसरी निर्लज्य रूपमा उभिएको घटनालाई गैरआवासीय नेपालीहरूले निकै चासो दिएका छन्। केही प्रवासी नेपालीले यसलाई गैरआवासीय नेपालीको चुनाव हुन लागेको हो कि, नेपाली कांग्रेसको महाधिवेशन? भन्दै व्यंग गरेका छन्।

‘नेताहरूले यसलाई भोट देउ भनेर जित्ने भए, किन चुनाव गराइरहनु पर्‍याे। प्रधानमन्त्रीले टिका लगाएर एनआरएनएको अध्यक्ष बनाए भइहाल्यो नि,’ एनआरएनएमा आवद्ध एक गैरआवासीय नेपालीले प्रवास खबरसँग व्यंग गरे।

एनआरएनएको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिने अर्की नेतृ रविना पनि कांग्रेसी पृष्ठभूमि कि हुन्। उनको विषयमा पार्टी मौन रहनुले नेपाली कांग्रेसभित्र विभिन्न गुट सक्रिय भएको स्पस्ट बुझ्न सकिन्छ। नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका विभिन्न आकांक्षी जस्तै एनआरएनएको निर्वाचनमा पनि खेमा देखिनुलाई धेरैले अन्यथा मानेका छैनन्। नेपाली कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंहलगायत केही आकांक्षी देखिएका छन्।

श्रोतका अनुसार प्रधानमन्त्री देउवा कुल आचार्यको पक्षमा देखिएपनि अन्य रवीनाको पक्षमा छन्। यस्तै कतिपय कांग्रेसी डा. बद्री केसीको पक्षमा छन् । यस कारण पार्टीले जति नै ह्वीप जारी गरेपनि जनसम्पर्क समितिले त्यसलाई पछ्याउने सम्भावना न्यून छ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ७ असोजमा एउटा विज्ञप्ती सार्वजनिक गर्दै प्रवासमा बसोबास गर्ने पार्टीका कार्यकर्तालाई एनआरएनएको चुनावमा भाग लिन अपील गरेका छन्। उनले विधानअनुसार चुनाव लड्न योग्य भएका सदस्यलाई भाग लिन आग्रह गरेका छन्।

यसले एनआरएनएको अस्तित्वमाथि नै प्रश्न उठेको गैरआवासीय नेपालीहरू बताउँछन्। ‘आफ्नो पार्टीको महाधिवेशन जस्तै एनआरएनएको चुनावमा ह्वीप लगाउने हो भने संस्थाको अस्तित्व के रहला?’, अमेरिकामा रहेका संघका एक प्रतिनिधिले प्रवास खबरसँग भने, ‘गैरआवासीय नेपाली संघको नेतृत्व गर्छु भन्ने व्यक्ति नै यसरी निर्लज्ज रूपमा प्रस्तुत भएपछि संस्थाको मर्यादा कहाँ रहन्छ?’