मध्यपूर्व एनआरएनए अभियानको मुटु, श्रमिक आर्थिक सिपाही : डा. केसी

मध्यपूर्व एनआरएनए अभियानको मुटु, श्रमिक आर्थिक सिपाही : डा. केसी फाइल फोटो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसीले मध्यपूर्व क्षेत्र एनआरएनए अभियानको मुटु भएको बताएका छन्।

मध्यपूर्वका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै डा. केसीले कतार रुसपछिकै दोस्रो एनआरएनए/एनसीसी रहेको स्मरण पनि गरे।

‘कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन पठाउने केन्द्र हो एनआरएनए मध्यपूर्व,’ एनआरएनए मध्यपूर्वका प्रतिनिधिलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, ‘स्वदेशमा बस्नेले मात्र हैन, विश्वभरकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन । मध्यपूर्व एनआरएनको मुटु हो ।’

मध्यपूर्वका श्रमिकलाई आफू कार्यरत देशमा मात्र नभइ एनआरएनएमा पनि हेलाको दृष्टिले हेरिने गरेको बताउँदै डा केसीले यस्तो विभेदकारी सोचमा परिवर्तन ल्याउन पनि आफूले अध्यक्षमा उमेदवारी घोषणा गरेको बताए ।
वैदेशिक रोजगारीले नेपालको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान पुर्‍याएको र त्यसमध्ये ठूलो हिस्सा मध्यपूर्वका श्रमिकले धानिरहेको डा. केसीले बताए।

‘मध्यपूर्वका देशमा खटिएका नेपाली श्रमिकहरु नेपालका आर्थिक सिपाही हुन्,’ उनले भने।

मध्यपूर्वमा सबैजसो नेपाली रहरले नभइ कहरले पुगेको बताउँदै उनले देशमा रोजगारीको अवसर सिर्जना गर्नसके तातो बालुवामा पसिना चुहाउनु नपर्ने बताए।

‘हामी जन्मेको देशभित्रै रोजागरी र अवसर भए ४० डिग्री माथिको तापक्रममा कोही घोटिनुपर्ने थिएन,’ उनले भने, ‘त्यसका लागि हामी अब जागरुक हुनैपर्छ ।’

मध्यपूर्वका बालुवाका थुप्रालाई हराभरा बनाउन ती देशमा पुगेका श्रमिकको दैनिकी निकै कष्टकर भएको जनाउंदै डा. केसीले दैनिक रोजगारीका लािग मध्यपूर्व तथा मलेसिया पुगेका नेपालीको दैनिक ३ देखि ४ वटा लास देश भित्रिने अवस्था निकै दयनीय भएको बताए।

अधिकांश नेपाली श्रमिकले कमाएको पैसा घर खर्च र अनुत्पादक क्षेत्रमा लगानी हुँदा उनीहरुले बुढेसकालमा आर्थिक समस्या झेल्नुपरिरहेको बताउँदै उनले आफू पेन्सन फन्डको व्यवस्था गर्न लागिपरेको बताए।

१८ वर्षदेखि निरन्तर एनआरएनएमा आवद्ध डा. केसी हाल उपाध्यक्ष हुन् । उनले यसअघि एनआरएनएको महासचिव र कोषाध्यक्षका रुपमा सफल कार्यकाल निर्वाह गरिसकेका छन्। हाल उनले रुस र युक्रेनमा उत्पादन तथा आयात–निर्यातसम्बन्धी व्यवसाय गर्दै आएका छन् । केसीले नेपाली चियालाई रुसलगायत देशमा लगेर ब्रान्डिङ गर्दै आएका छन्।

अध्ययनका लागि सन् १९९० मा रुस पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजी विषयमा स्नातकोत्तर उत्तीर्ण केसीले २००१ मा सोही विषयमा बिद्याबारिधी गरेका छन्।

एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसीले मंगलबार उम्मेदवारी घोषणा गर्ने