फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीमा फुमिओ किशिदा बन्ने निश्चित भएको छ। जापानको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा बिजयी भएसँगै किशिदा नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् ।

२९ सेप्टेम्बर दिउँसो ३ बजे सम्पन्न सत्ताधारी एलडिपीको दोस्रो चरणको मत परिणाम अनुसार किशिदा २५७ मत सहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारो कोनोले केवल १७० मत प्राप्त गरेका छन्।

पार्टीको प्रमुखमा बिजयी भएसागै किशिदा आगामी साता जापानको नयाँ प्रधानमन्त्री बन्नेछन्।

पार्टी अध्यक्षको दौडमा वर्तमान प्रधानमन्त्री सुगा योशिहिदेले उम्मेदवारी नदिएपछि चार जना प्रतिस्पर्धामा रहेका थिए ।

पार्टी अध्यक्षनै प्रधानमन्त्री बन्ने नियमानुसार पार्टी अध्यक्षमा बिजयी भएपछि किशिदा सुगाको उत्तराधिकारी बन्ने भएका हुन् ।

जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचनमा सांसदहरु र पार्टी सदस्यहरुको मतगणनामा चार मध्ये कुनैपनि उम्मेदवारले पहिलो चरणमा स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् ।

६४ बर्षिय किशिदा आधिकारिक रुपमा अक्टोबर ४ मा आयोजना गरिने विशेष संसद बैठक मार्फत जापानको नयाँ प्रधानमन्त्रीमा घोषित हुनेछन् ।