कुल आचार्यको चुनावी सभामा देखिएको ‘ताण्डव नृत्य’

कुल आचार्यको चुनावी सभामा देखिएको ‘ताण्डव नृत्य’

काठमाडौं। के तपाईले सुन्नु भएको छ, आफूविरूद्ध अन्याय भएको उजुरी गर्ने व्यक्तिले नै सबैभन्दा अगाडि तम्सिएर संस्थाको चुनाव लड्ने घोषणा गरेको?

यस्तै रोचक तथा घोचक घटना, कुल आचार्य समूहद्धारा आइतबार घोषित चुनावी सभामा देखियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो अक्टुबरमा हुने निर्वाचनको मुद्धा यतिबेला निकै पेचिलो बनेको छ। यसलाई पेचिलो बनाउने काम कुल आचार्यकै समूहले गरेको थियो। यसै महिना आचार्यको टिममा समावेश तीन जना सदस्यले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि चयनमा धाँधली भएको भन्दै सरकारसँग चुनाव रोक्न माग गरेका थिए।

तर, आइतबार होटल ‘याक एण्ड यति’ मा आचार्यले दोस्रो पल्ट अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दा परराष्ट्रमा चुनाव रोक्न निवेदन दिने तिनै ३ जना व्यक्तिहरू उपस्थित थिए।

उनीहरू आचार्यको घोषणा सभामा उपस्थित मात्र भएनन्, भाषणै ठोक्न भ्याए। उनीहरूले घोषणा सभामा आफ्नै घर–परिवारविरूद्ध ‘विष बमन’ गर्न कुनै कसर बाँकी राखेनन्। उजुरीकर्तामध्येका एक बेदप्रसाद खरेलले त एनआरएनएका सचिव तथा महासचिवले संस्था कब्जा गर्ने नीतिअनुरुप ‘ताण्डव नृत्य’ गरेको आरोप लगाए।

घोषणा सभामा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यभन्दा आकर्षणको केन्द्र जानकी गुरुङ बनेकी थिइन। गुरुङ पराराष्ट्रमा उजुरी गर्ने तीन जना सदस्यमध्ये एक हुन्। तर रमाइलो दृश्य, उनले नै आइतबार कुल आचार्यको टिमबाट महिला उपाध्यक्षको उम्मेदवारी घोषणा गरिन्। यसले कुल आचार्यको घोषणा सभामा उनको जगहसाइँ मात्र भएन, यतिबेला उनी एनआरएनए बृत्तमा पनि ‘जोक’ को पात्र बनेकी छिन्।

घोषणा सभामा एनआरएनएका वर्तमान उपाध्यक्ष सोनाम लामाको उपस्थिति पनि रमाइलो बनेको थियो। संस्थाको आधिकारीक प्रतिनिधित्व लिँदै कुल आचार्यको उम्मेदवारी सभाको सभापतित्व गर्न पुगेका सोनाम संस्थाको भावी सर्वस्विकार्य नेता बन्ने अभियानमा थिए। तर, आइतबारको घोषणा सभाले उनको ‘इमेज’ मा गहिरो धक्का लागेको छ।