कुल आचार्यको महत्वकांक्षी योजना : सय देशमा शाखा विस्तारदेखि पाँच लाख सदस्यसम्म

कुल आचार्यको महत्वकांक्षी योजना : सय देशमा शाखा विस्तारदेखि पाँच लाख सदस्यसम्म फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले काठमाडौंको ‘याक एण्ड यति’ होटलमा विशेष समारोहका बीच अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्।

संघको अघिल्लो चुनावमा कुमार पन्तसँग पराजित भएका आचार्यले उम्मेदवारी घोषणा गर्दै भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने मेरो अभियान हो। संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु।’

संघको दशौं विश्व सम्मेलन २३–२५ अक्टोबरमा काठमाडौंमा हुँदैछ। निर्वाचन समितिले अनलाइन माध्यमबाट एकसाथ मतदान गराउने तयारी गरेको छ।

उनले भने, ‘पैतृक सम्पत्तिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिनेछु।’

उनले दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरे।

हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसी निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीलाई मात्र नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि जोड्ने उनको योजना छ। थाइल्याण्ड, म्यानमार लगायत मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसेर व्यवसाय गर्दै आइरहेका छन्।

उनले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायत मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे। उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए।

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ। प्रवासी नेपालीको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे।