‘टिम रवीना’ को घोषणा : कुनै हालतमा चुनावी मैदानबाट पछाडि हटिन्न

‘टिम रवीना’ को घोषणा : कुनै हालतमा चुनावी मैदानबाट पछाडि हटिन्न काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघको आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै रविना थापा प्यानल ।

काठमाडौं। एनआरएनएमा पहिलो महिला अध्यक्ष बन्ने महत्वकांक्षी अभियानमा लागेकी रवीना थापाले पछिल्लो समय आफूविरूद्ध प्रशस्त कूप्रचार भएको तर, आफू अध्यक्षको उम्मेदवारीबाट पछाडि नहट्ने स्पष्ट पारेकी छिन्।

बिहीबार काठमाडौंको पाँचतारे होटल ‘याक एण्ड यति’ मा एनआरएनए अध्यक्षको औपचारिक घोषणा सभामा उनले भनिन्, ‘म अघि बढेँ। पछाडि हट्ने कुरा छैन।’

कुल आचार्यको टिमले पछिल्लो समय बार्गेनिङका लागि अध्यक्ष पदको मनोनयन दिन लागेको आरोप लगाइरहेको बेला उनले भनिन्, ‘यो म र मेरो टिमविरूद्ध फैलाइएको भ्रम हो। यसमा कुनै सत्यता छैन। चुनावी अभियानबाट हट्ने भए म किन तपाईहरूबीच हुन्थे?’

रवीना हाल एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारीमा छिन्। अमेरिका निवासी रवीनाले अध्यक्ष पदको उम्मेदवारी दिएपछि गत निर्वाचनमा अध्यक्षको प्रत्यासी भएर कुमार पन्तसँग चुनाव हारेका कुल आचार्यले निर्वाचन नलड्न उनलाई दबाब दिएका थिए।

तर, रवीनाले आफू जुनसुकै अवस्थामा पनि अध्यक्ष पदमा लड्ने अडान लिँदै आइरहेकी छिन्। जसका कारण आचार्यको टिमले दबाब महसुस गरिरहेको छ। आचार्य पनि आगामी निर्वाचनमा पुनः अध्यक्षको प्रत्यासी बनेका छन्।
बिहीबार थापाको समूहबाट उपाध्यक्षमा जय प्रकाश गुरुङ, महासचिवमा बिनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेदवारी घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा रवीनाले घुमाउँरो पारामा आचार्यको टिमले चुनाव बिथोल्न परराष्ट्र मन्त्रालयमा उजुरी गरेको तर यो जायज नभएको ठहर गरिन्। आचार्यको टिमको यो हर्कतले संस्थाको गरिमामा आँचा आएको उनको तर्क थियो।

पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘संघभित्रको विवाद संघमै मिलाउनु पथ्र्यो। संघमा छलफल नगरि परराष्ट्रमा जानु जायज होइन जस्तो लाग्छ। समयमा चुनाव हुनुपर्छ। यसका लागि हाम्रो पहल रहन्छ।’

यस्तै, बेलायतबाट महासचिवको उम्मेदवारी दिएका बिनय अधिकारीले पनि आफ्नो टिम व्यापक तयारीका साथ अगाडि बढेको हुनाले पछाडि फर्किने अवस्था नरहेको स्पष्ट पारे।