सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारीका लागि उपाध्यक्षमा मेरो उम्मेदवारी : शर्मा

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारीका लागि उपाध्यक्षमा मेरो उम्मेदवारी : शर्मा

दोहा ।मध्यपूर्वका प्रभावशाली व्यक्तित्व तथा एनआरएनएका वर्तमान सचिव आरके (राजेन्द्र कुमार) शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

मध्यपूर्वको महत्वपूर्ण मानिने कतारमा बसेर लामो समयदेखि व्यवसाय गर्दै आएका शर्मा गैरआवासीय नेपालीहरूको अभियानमा सुरुदेखि नै सक्रिय छन्। व्यवसायबाहेक उनको अर्को पनि परिचय छ। उनी समाजसेवीको रूपमा पनि चिनिन्छन्। मध्यपूर्वमा दुःख पाएका नेपालीको उद्धारमा उनको योगदान प्रमुख मानिन्छ।

उनले सन् २०१७–१९ कार्यकालमा मध्यपूर्वको संयोजक भएर काम गर्दा खाडी मुलुकमा रहेका नेपाली श्रमिकको हकअधिकारका लागि महत्वपूर्ण काम गरेका थिए। यसै कारण उनी २०१९ को चुनावमा सचिव पदमा सहजै विजयी भएका थिए।

मध्यपूर्वको संयोजक तथा सचिव पदमा हुँदा वैदेशिक रोजगारलाई सम्मानित बनाउन थालेको अभियानलाई थप प्रभावकारी बनाउन आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको शर्माले प्रवास खबरलाई बताएका छन्।

उनी भन्छन्, ‘हालसम्म हामीले उठाएका केही विषय संवोधन भएपनि केही मुद्धा स्थापित गर्न सकेका छैनौ। सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउँदै श्रमिकको सम्मान र देश विकासको रामवाण रेमिट्यान्सको सही सदुपयोग अझै हुन सकेको छैन। यसैलाई व्यवस्थित गर्न पनि उपाध्यक्षमा मेरो उम्मेदवारी हो।’

उनी एनआरएनए विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी भएको बताउँछन्। एनआरएनएलाई सबैको बनाउन पनि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दा ७ बुँदालाई मुख्य आधार बनाएका छन्।

जुन यस प्रकार छः

१- सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगारः वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायत देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो। आज देशको अर्थतन्त्र धान्ने श्रमिकको सही सम्मान हुन सकेको छैन। देश धान्ने हिरोहरूको मुद्दा एनआरएनएको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ। सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाको सहयोगका लागि सरकारसँग सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो।

२- गैरआवासीय नेपाली नागरिकताः सन् २००५ देखि हाम्रो माग गैरआवासीय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन। २०७२ को संविधानले गैरआवासीय नागरिकताको हक प्रत्याभूत गरेपनि नागरिकता बिधेयक विचाराधीन छ। कानून कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो। त्यसैगरी गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ। गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउन मेरो उम्मेदवारी हो।

३- रेमिट्यान्सको सही सदूपयोग र लगानीः विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो। साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनएको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ। १० अर्बको एनआरएनए नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक वर्गको लगानी सुनिश्चितता गर्नका लागि पनि मेरो उम्मेदवारी हो।

४- स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउनः पर्यटकलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु। पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैरआवासीय नेपाली विज्ञलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएनए अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु। साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो। त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्नेछु।

५- एनआरएनएमा सबैको स्वामित्वः एनआरएनए धनीको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्य मैले लिएको छु। मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुःख पाउँदा एनआरएनए सधै निस्वार्थ रूपमा खट्नु पर्छ। यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ। विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु। भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु।

६-गोर्खाजको सम्मानित अधिकारः दुईसय वर्ष अगाडिदेखि नेपालीको बिरताको गाथाको रूपमा चिनिएका गोर्खाजहरू संसारभरि फैलिएका छन्। उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ। उहाँहरूको समान हक र अधिकारको लागि मैले आफ्नो अर्को मुद्धा बनाएको छु।

७-राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानः आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय स्रोत साधन तथा मानवीय कार्यमा केन्द्रित गरिरहेको छ। आगामी दिनमा यसबाहेक एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्नेछु। गैरआवासीय नेपालीहरू विदेशमा दक्ष काम गरिरहनु भएको छ, हामीले सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा नेपाली दक्ष तथा विज्ञ नेपालीहरू विदेशमा होइन, नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजना ल्याउन मैले विशेष पहल गर्नेछु।