उजुरीकर्तालाई सल्लाहकार कार्कीको प्रश्न : भोलि एनआरएनए भंग गर्ने माग उठ्यो भने के गर्ने?

उजुरीकर्तालाई सल्लाहकार कार्कीको प्रश्न : भोलि एनआरएनए भंग गर्ने माग उठ्यो भने के गर्ने? एनआरएनएका सल्लाहकार टिवी कार्की

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार टिवी कार्कीले घरभित्रको विवाद परराष्ट्र मन्त्रालयसम्म पुर्‍याउने कार्य निन्दनीय तथा संस्था धरासायी बनाउने उद्धेश्यले प्रेरित भएको आरोप लगाएका छन्।

सन् २०१५ मा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी कार्कीले एनआरएनएमा आवद्ध केहि साथी संस्था डुबाउने खेलमा लागेको भन्दै दुःख व्यक्त गरे। काठमाडौंस्थित इन्द्रेणी होटलमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा कुल आचार्य समूहतर्फ लक्षित गर्दै उनले भने, ‘अहिले नेतृत्वमा आउन चाहने साथीहरू जसरी लागिरहनु भएको छ, यो उहाँहरूको लागि पनि ऐतिहासिक भुल हुनेछ। त्यसो नगरौं, साथीहरूलाई विनम्र आग्रह छ।’

कुल आचार्य समूहका तीन जनाले महाधिवेशन तथा निर्वाचन प्रतिनिधि छनोट प्रक्रियामा संस्थापन पक्षले धाँधली गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी गरेका थिए। उनीहरूकै उजुरीको आधारमा परराष्ट्रले आउँदो अक्टुबरमा तय भएको निर्वाचन स्थगित गर्न आदेश दिएको थियो। परराष्ट्रको एकल निर्णयप्रति एनआरएनएले आपत्ति जनाइसकेको छ भने अक्टुबरमै निर्वाचन गराउने सन्दर्भमा सोमबार परराष्ट्रका अधिकारी तथा एनआरएनएका पदाधिकारीबीच छलफल भएको थियो।

‘अर्काे पक्ष यहि तरिकाले अगाडि बढ्ने हो भने संघमा गम्भीर जटिलता आउनसक्छ। संघलाई विवादित बनाउँदै जाने हो भने यिनै साथीहरूको कारण संघ विघटन पनि हुन सक्छ। आज अधिवेशन रोकिदियो, ‘स्टे–अर्डर’ मै चल्नुपर्ने अवस्थामा पुगियो भने भोलि संघ नै भंग गर्नुपर्ने माग सहित साथीहरू आउन थाल्नुभयो भने के गर्ने? त्यो बेला हामीले के गर्ने?’ उनले गम्भीर प्रश्न उठाए।

उनले नेतृत्व हाक्न चाहने व्यक्तिले भविस्यको रेखा सुनिश्चित गर्नुपर्ने बताए। ‘भविश्यको सोच राख्नु जरुरी छ। नेतृत्वमा पुग्नकै लागि फाइदा लिने प्रवित्ति बढ्न थाल्यो भने त्यो सबैका लागि अभिसाप बन्नसक्छ। सबैले बुझ्न जरुरी छ’, उनले भने, ‘यो संस्था हाम्रो लागि अत्यन्तै महत्वपूर्ण संस्था हो। यसलाई हुर्काउन सबैले अथाह मिहिनेत गरेका छन्। आज यो संस्था नभएको भए नेपालमा आउने प्राकृतिक प्रकोपलगायत अन्य सामाजिक कार्यमा विदेशमा बस्ने नेपालीले सहयोग गर्नसक्ने अवस्था हुन्थेन्।’

उनले संस्थाको अस्तित्वमाथि आँच आउने कार्य नगर्न सबैसँग अनुरोध पनि गरे। ‘यसो नगरिदिनुस्। यदि गैरआवासीय नेपाली संघलाई साच्चिकै माया गर्ने साथीहरू नेतृत्वमा आउन चाहनुहुन्छ भने विभाजनउन्मुख कार्य नगरौं, यो रोकिनुपर्छ’, उनले भने।