नक्कली कागजात बाेकेर अमेरिका हिँडेका ८५ नेपालीको जर्मनीमा हरिविजोग !

नक्कली कागजात बाेकेर अमेरिका हिँडेका ८५ नेपालीको जर्मनीमा हरिविजोग !

काठमाडौं । नक्कली कागजातसहित अमेरिका जाने क्रममा जर्मनीको फ्र्यांकफोर्ट विमानस्थल समातिने नेपालीको संख्या ८५ पुगेको छ। रसियाको मस्कोबाट नक्कली कागजातसहित मेक्सिको प्रवेश गर्न लागेका १८ जना नेपालीलाई जर्मनी प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।

विमानस्थल ट्रान्जिटमा चेकजाँच गर्ने क्रममा कागजपत्र नक्कली भेटिएपछि अध्यागमन कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। अहिले यो संख्या बढेर ८५ पुगेको जर्मनीको सरकारी निकायमा कार्यरत एक नेपालीले प्रवास खबरलाई जानकारी दिए।

अहिले जर्मनीको सुरक्षा निकायले नेपालीलाई उच्च निगरानीमा राखेको छ । १८ जना प्रहरीको नियन्त्रणमा छन् भने बाँकी नेपाली विमानस्थलकै ट्रान्जिट एरियामा अलपत्र परेका छन्। उनीहरुले अहिले महँगोे पैसा तिरेर विमानस्थलको खाना खाइरहेका छन । पैसा नभएकाहरु भोकै बस्नु पर्ने बाध्यता छ।

अध्यागनको नियन्त्रणमा रहेका उनीहरु सबैको अन्तिम लक्ष्य अमेरिका पुग्ने थियो । उनीहरु नेपालबाट दुबई र त्यहाँबाट मस्को हुँदै जर्मनी पुगेका थिए। केहीले भने जर्मनीलाई पनि पार गर्दै मेक्सिको पुगेका थिए । तर, उनीहरुलाई पनि मेक्सिको अध्यगमनले ‘डिपोर्ट’ गरेर जर्मनी पठाएको हो । यसरी अहिले फ्र्यांकफोर्ट विमानस्थल अवैधानिक नेपालीले भरिएको छ।

उनीहरु विगत ६ दिनदेखि विमानस्थलमा अलपत्र छन्। जर्मनीको सरकारी निकायमा कार्यरत ती नेपालीका अनुसार अध्यागमनको नियन्त्रणमा रहेका नेपालीले आफूहरुलाई मेक्सिको नै पठाइदिन आग्रह गरिरहेका छन्। जर्मनीको सुरक्षा निकाय भने उनीहरुलाई मस्को फिर्ता पठाइदिने योजनामा छ।

पक्राउ परेका नेपालीले त्यहाँ कार्यरत नेपालीलाई बताएअनुसार आफूहरुले अमेरिका जान भनेर ४० देखि ४५ लाख नेपाली रुपैयाँ दलाललाई तिरेको बताएका छन्।

उता बर्लीनस्थित नेपाली दूतावासले भने १८ नेपाली मात्र नियन्त्रणमा रहेको बताएको छ ।जर्मनीका लागि नेपाली राजदूत रामकाजी थापाले प्रवास खबरसँग टेलिफोनमा भने, ‘आधिकारीक रुपमा बुझ्दा १८ जनामात्र नियन्त्रणमा रहेको जर्मनीको सुरक्षा एजेन्सीले इमेलमार्फत जानकारी दिएको छ ।’

नियन्त्रणमा रहेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा समेत भेटिएको  सुरक्षा एजेन्सीले जानकारी गराएको छ। नियन्त्रणमा लिइएका नेपालीहरुको विस्तृत विवरण भने अहिलेसम्म आफूहरुलाई उपलब्ध नभएको राजदूत थापाले बताए।

नियन्त्रणमा रहेका सबै विमानस्थलमै रहेको र उनीहरुलाई जुन ठाउँबाट आएका थिए, उही रुट भएर फर्काउने तयारी भइरहेको थापाले जानकारी दिए । ‘उनीहरुलाई फर्काउन हाम्रो भूमिका हुदैन, जर्मनीको सम्बन्धीत निकायले नै गर्ने हो’ उनले भने, ‘नक्कली कागजात भएका कसरी मस्कोबाट उड्ने अनुमति पाए भन्ने मुख्य सवाल प्रमुख हो ।’