एनआरएनए निर्वाचन विवाद : परराष्ट्रले भन्यो– तपाईँहरु आफै मिलेर आउनुहोस्

एनआरएनए निर्वाचन विवाद : परराष्ट्रले भन्यो– तपाईँहरु आफै मिलेर आउनुहोस्

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आउँदो महाधिवेशनको विषयलाई लिएर परराष्ट्र मन्त्रालयसँग छलफल गरेको छ। संघका अध्यक्ष कुमार पन्त नेतृत्वको एक टोलीले परराष्ट्रका अधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गरेको हो।

‘महाधिवेशन सम्बन्धमा उठेका पछिल्ला विषयमा आज परराष्ट्र अधिकारीसँग संघका पदाधिकारीको छलफल भएको थियो,’ एनआरएनएका एक पदाधिकारीले जानकारी दिँदै प्रवास खबरसँग भने,‘महाधिवेशन तोकिएकै समयमा गराउने मन्त्रालयका अधिकारीले प्रतिवद्धता जनाउनु भएको छ।’

यसअघि अक्टोबरमा तय भएको १० औं अन्तर्राष्ट्रिय सम्मेलन तथा निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासी कुल आचार्य समूहका तीन जनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए । त्यसलगत्तै परराष्ट्रले संघलाई पत्रचार गर्दै निर्वाचन सम्बन्धी प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो।

छलफलमा परराष्ट्र अधिकारीले संघमा देखिएका विवादको संघभित्रबाटै समाधान गर्न पनि सुझाव दिएका थिए । परराष्ट्र मन्त्रालयका अधिकारीको भनाइ उधृत गर्दै ती पदाधिकारीले भने,‘तपाईँहरु आफै मिलेर आउनुहोस्, विवादको सटआउट संघभित्रै गर्नुहोस्, भनेर सुझाव दिनु भएको थियो।’

यस्तै संघका अध्यक्ष कुमार पन्तले पनि छलफल लगत्तै ‘तोकिएकै मितिमा महाधिवेशन गराउन मन्त्रालयको सहयोग रहने बताएका छन्।

उनले भनेका छन्,‘तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित छौँ । विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्नेछ।’