राजनीतिक दलका नेतालाई ‘साक्षी’ राखेर आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

राजनीतिक दलका नेतालाई ‘साक्षी’ राखेर आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं- बेलायतमा बसोबास गर्दै आएका कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

गृह जिल्ला पर्वतमा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्तालाई भेला पारेर उनले आइतबार पत्रकार सम्मेलन गर्दै एनआरएनएको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

‘तपाईंहरूको आर्शिवाद लिन म शनिबार नै गृह जिल्ला आएको हुँ। जसले मलाई हुर्काउनु भयो, ठूलो बनाउनु भयो, केही गर्न सिकाउनु भयो उहाँहरूको आर्शिवादबिना मेरा कुनै सपना पुरा हुँदैनन् भन्ने मेरो अन्तरमनले भनेको कारण यहाँ आएको हुँ,’ उनले भने।

यसअघिको एनआरएनए चुनावमा अध्यक्ष पदका प्रत्यासी कुमार पन्तसँग पराजित भएका आचार्यले सबैको साथ सहयोग पाएर पुन: उठेको बताए।

‘मैले गैरआवासीय नेपाली संघमा कसैको हारजित हुँदैन भन्ने गरेको छु। संसारभरिका साथीहरूले तपाई अगाडि बढ्नुपर्छ भनेपछि उठ्न लागेको हुँ,’ उनले भने।

एनआरएनएको चुनाव स्थगित गर्ने परराष्ट्र मन्त्रालयको निर्णयको आचार्यले केही समयअघि मात्र स्वागत गरेका थिए।

यो अवस्थामा आचार्यले उम्मेदवारी दिने घोषणा गरेका हुन्। आचार्य हाल एनआरएनएको सल्लाहकार पदमा कार्यरत छन्।