एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा यूएईबाट सुदिप कार्कीको उम्मेदवारी

एनआरएनए निर्वाचन : युवा उपाध्यक्षमा यूएईबाट सुदिप कार्कीको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा यूएईबाट सुदिप कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।कार्कीले युवाहरुको हितमा काम गर्ने भन्दै युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
यूएईमा जागिर तथा व्यवसाय गर्दै आएका कार्की एनआरएनए यूएईका पूर्व अध्यक्ष समेत हुन् । उनले २०१५–०१७ कार्यकालमा एनआरएनए यूएईको नेतृत्व सम्हालेका थिए ।

३० वर्षकै उमेरमा एनसीसी यूएईको अध्यक्ष बनेका कार्की सम्भवतः सबैभन्दा कम उमेरमा एनसीसी अध्यक्ष बन्ने पहिलो थिए।

युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा बताउने कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई नेपालका युवासम्म ल्याउने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको प्रवास खबरसँग बताए।

त्यसो त कार्की २०१९–०२१ कार्यकालमा संघको युवा संयोजकमा पदमा चुनाव लडेका थिए । नतिजा भने उनको पक्षमा आएन । कार्कीले भने,‘अघिल्लो निर्वाचनमा थोरै मतले जीतबाट चुकियो । अहिले व्यापक तयारीसहित युवाकै पक्षमा काम गर्न युवा उपाध्यक्ष पद रोजेको हुँ ।’

युवा उपाध्यक्षका लागि नेदरल्याण्डबाट वर्तमान युवा संयोजक हिमाल गुरुङ, अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह र कतारबाट राज रेग्मीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। संघको संसोधित विधानमा एक युवा उपाध्यक्ष रहने प्रावधान छ ।

संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ । नयाँ नेतृत्वका लागि निर्वाचन अनलाइनमार्फत हुने संघले जनाएकोे छ ।