सरकारी ढिलासुस्ती : कतार प्रहरीमा नेपालीको भर्ना रोकियो

सरकारी ढिलासुस्ती : कतार प्रहरीमा नेपालीको भर्ना रोकियो

काठमाडौं। सरकारी ढिलासुस्तीका कारण कतार प्रहरीमा भर्ना गर्ने भनिएको नेपालीको कोटा रद्ध भएको छ।

कतार सरकारले अघिल्लो वर्षदेखि कतार प्रहरीमा नेपालीका लागि आवेदन खुला गरेको थियो। तर, सरकारी अन्यौलताकाबीच हालसम्म ठोस निर्णय हुन नसक्दा कतारले भर्ना प्रक्रिया रद्ध गरेको बताएको छ।
कतारस्थित नेपाली दूतावासले वैदशिक रोजगार विभागलाई यसको जानकारी दिँदै भनेको छ, ‘ सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले उक्त पदहरुमा अन्यत्रबाट पूर्ती गरिएको भनि राजदूतावासमा जानकारी गराएको छ ।’

कतारले गत मंसिरदेखि नै नेपालीका लागि प्रहरीमा भर्ना खोलेको थियो। तर, नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन। दोहास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको लागि श्रम मन्त्रालयमा कागजपत्र पठाए पनि यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन। तर, अल तकेत ओभरसिजले मागपत्र प्रमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो। जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोली पनि आएको थियो।

मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो। यस्तै कतार सरकारले कतार प्रहरीको छनौटको लागि कुनै शुल्क नलिने भन्ने सर्त राखेको थियो। सर्त विपरीत तकेत ओभरसिजले ठूलो रकम असुल गरेको थियो। यो विषय सञ्चारमाध्यममा आएपछि कतार सरकार पनि सतर्क बनेको थियो।