एनआरएनए इटालीका पदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी

एनआरएनए इटालीका पदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी

रोम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) इटालीको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले विभिन्न मह्त्वपूर्ण निर्णय गरेको छ।

अध्यक्ष छवीलाल कँडेलको अध्यक्षतामा मिलानमा सम्पन्न बैठकले एक सल्लाहकार समिति पनि गठन गरेको छ। वरिष्ठ सल्लाहकारमा डा. भिमबहादुर बम, रिचार्ड भण्डारी, दिपेश कुमार रेग्मी र मिला ठोकर चयन भएका छन्।
सल्लाहकार बोर्डमा मुकुन्द पौड्याल, नारायण प्रसाद खरेल र इटालीस्थित नेपाली समाजका अध्यक्षलाई मनोनित गर्ने निर्णय भएको छ।

बैठकले कार्यसमितिमा रिक्त रहेको पदमा पदपूर्ति गरेको छ। रिक्त रहेको पदमध्ये उपाध्यक्षमा भोजराज कँडेल, सदस्यहरूमा जीत बहादुर बन्जारा, श्यामदीप राई ,प्रदीप अधिकारी र डम्बर बहादुर चौहान मनोनित भएका छन्।

इटालीमा रहेका नेपालीको वास्तविक तथ्यांक संकलन, बेरोजगार नेपालीका लागि रोजगारीको खोजी तथा खेल क्षेत्रमा काम गर्ने उद्देश्यका लागि रोजगार तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी पूर्वउपाध्यक्ष मनोजकुमार कार्कीलाई तोकिएको छ।

यस्तै, इटालीमा बसोबास गरिरहेका नेपालीलाई आइपर्ने कागजी तथा कानूनी समस्या परामर्शको जिम्मेवारी देवराज गुरुङले प्राप्त गरेका छन्।

कानूनी तथा राहत कोष विभागले जनाए अनुसार इटालीस्थित स्थानीय नेपाली समाज, इटालियन संघ संस्था, कन्सुलर तथा दूतावाससँग समन्यवयकारी भूमिका निर्वाह गरेर समस्या समधान गर्न उनलाई जिम्मेवारी तोकिएको हो।

यसैगरी नेपालको दूर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य तथा शिक्षामा राहत पु¥याउने हेतुले ‘बम्बिनी पर बम्बिनी’ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ भने संयोजकको जिम्मेवारी कोषाध्यक्ष दीर्घमाया मगरलाई प्रदान गरिएको छ।

यो समितिमा मनोज कुमार कार्की, देवराज गुरुङ, दिपेशकुमार रेग्मी, राजन चापागाईं, मिला थोकर, भक्त बहादुर गुरुङ, सकुन्तला थापा, भुवन लिम्बूलगायत सदस्यमा नियुक्त भएका छन्।

त्यस्तै इटालीमा रहेका दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा समेट्न, भित्री समस्या पहिचान गरि समाधनको उपाय खोजेर ६० दिनभित्र प्रतिवेदन बुझाउन महासचिव भवेश कुमार सिंहको संयोजकत्वमा उपाध्यक्षद्वय भुवन लिम्बु, भोजराज कँडेल, युवा प्रतिनिधि श्याम खरेल, महिला–प्रतिनिधि बिना मगारती, सदस्य सिराज कार्की, श्यामदीपं राई, जीत बन्जारा रहने गरि एक विशेष समिति गठन भएको छ।

अवैधानिक रूपमा रहेका विदेशीलाई वैधानिकता दिलाउने सम्बन्धमा एनआरएनए इटालीबाट वैधानिक रूपमा हुनसक्ने प्रक्रियाको लागि नेपाली काउन्सिलर रोम तथा नेपाली दूतावास स्विट्जरल्याण्डसँग समन्वय गर्ने निर्णय भएको छ।
इटालीभित्र रहेका नेपाली कलाकारलाई संगठित गर्दै नेपाली कला, संस्कृति, भाषा साहित्य जगेर्नाको लागि आवश्यक कार्यक्रम संचालन गर्न टोरिनो निवासी चर्चित लोकगायिका सकुन्तला थापालाई कला, संस्कृति विभागको संयोजकमा मनोनित गरिएको अध्यक्ष छवीलाल कँडेलले प्रवास खबरलाई जानकार दिए।



No ads found for this position