राजनीतिक दलको दबाबमा एनआरएनएको चुनाव रोकिन्न, तोकिएकै समयमै गर्छौं : अध्यक्ष पन्त

राजनीतिक दलको दबाबमा एनआरएनएको चुनाव रोकिन्न, तोकिएकै समयमै गर्छौं : अध्यक्ष पन्त फाइल तस्वीर

जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपालका राजनीतिक पार्टीको दवावमा संघको चुनाव नरोकिने बताएका छन्।

संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको बताउँदै उनले भने, ‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन ।’ पन्तले आफूहरुले संघको विधि, विधान र प्रक्रिया उल्लंघन नगरेको पनि दावी गरे ।

परराष्ट्र मन्त्रालयले संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेपछि चुनाव स्थगित गर्न निर्देशन दिंदै भदौ २५ मा पत्र लेखेको थियो । संघलाई लेखिएको पत्रमा विवादिन विषयबारे छानबीन गर्न मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समिति प्रतिवेदन पेश नगरेसम्म संघका चुनावी प्रक्रिया स्थगन गर्न भनिएको छ।

पत्र सार्वजनिक हुनु अघिसम्म आफू मन्त्रालयका अधिकारीसंग निरन्तर सम्पर्कमा रहेको बताउँदै पन्तले भने, ‘मन्त्रालयका अधिकारीले मसँग राज्यसत्ताबाट निकै ठूलो दबाब आएकाले थेग्न नसक्ने आएको बताउनु भएको थियो ।’

परराष्ट्रले खोजेको जवाफ दिने, विधानअनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने तर, चुनाव नरोक्ने पन्तले बताए । ‘हामी तोकिएको समयमै चुनाव गर्छौ, तोकिएकै समयमा हुन्छ,’ पन्तले भने ।

महाधिवेशन प्रतिनिधिको एनसीसीबाट सूची संकलन भएर दाबीविरोध परिहेका र त्यसबारे अन्तिम टुंगो नलाग्दै अनियमितता भन्ने प्रश्नसँग नै आफू अचम्मित भएको पन्तले बताए । ‘हामीले नै छानबीन गरेर सकेका छैनौं । त्यो भन्दा पहिले अनियमितता भएको परराष्टलाई कसरी थाहा हुन्छ,’ उनको प्रश्न छ । पन्तले चुनाव रोक्ने विषय परराष्टको निर्णयले भन्दा पनि राजनीतिक दबाबले भएको बताए।

प्रतिनिधिको सूचीबारे एनआरएनएको छानबिन पछि मात्र अनियमितता भएको/नभएको थाहा हुनेमा पहिले नै त्यस्तो आरोप लगाउनु गलत भएको पन्तले बताए।

उनले भने, ‘यो संघको अभियानमाथिको अनावश्यक हस्तक्षेप हो ।’ एनआरएनए मन्त्रालयमा दर्ता भएपनि स्वायत्त संस्था भएकाले यसबारे परराष्ट्रले सोच विचार गरेर नेतृत्वसँग कुरा बुझेर मात्र कदम चाल्दा राम्रो हुने पन्तको सुझाव थियो।
उजुरी लिएर मन्त्रालय पुगेका पूर्वउपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षधरलाई लक्षित गर्दै पन्तले भने, ‘दाबीविरोधको समय नसकिंदै अन्त जान किन प¥यो । सचिवालयले नसुने विधान व्याख्या समिति र संरक्षक समितिमा जान सकिन्थ्यो । सिधै मन्त्रालय पुग्नु भोटको राजनीतिबाहेक अरु केहि होइन ।’

पन्तले थपे, ‘पहिले पनि यस्ता उजुरी हुनेगरेका र त्यतिबेला परराष्टलाई संघभित्रको समस्या समाधान गर्न संघ आफै सक्षम भएको बताउने गरेका थियौं । तर, यसपटक त संघले प्रतिनिधिको अन्तिम नामावली नै प्रकाशन नभइ मन्त्रालयले ठाडो हस्तक्षेप गरेको छ,’ पन्तले भने ।

उजुरी आउनेबित्तिकै चुनाव रोक्नुको साटो सचिवालयसँग सोध्नुपर्नेमा पत्र लेख्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । ‘यो अनावश्यक, अनुचित राजनीतिक हस्तक्षेप नै हो,’ पन्तल सरकारसँग आक्रोश व्यक्त गर्दै भने, ‘एक लाख सदस्य रहेकामा तीन जनाले उजुरी दिंदैमा परराष्टले चिठी लेख्ने हो भने मन्त्रालयले कुटनीतिसम्बन्धी सबै काम छाडेर एनआरएनको मात्रै काम गर्ने ?’