एनआरएनएको निर्वाचन स्थगित गर्न परराष्ट्रको पत्र, अध्यक्ष पन्तको मौनता शंकास्पद

एनआरएनएको निर्वाचन स्थगित गर्न परराष्ट्रको पत्र, अध्यक्ष पन्तको मौनता शंकास्पद

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुबरमा तय भएको निर्वाचन प्रतिनिधि विवादका कारण केही समय सार्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै २४ भदौंमा ३ प्रतिनिधिले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेका थिए।

सोही उजुरीको आधारमा मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मीको संयोजकत्वमा गठन गरेको छानवीन कमिटीले प्रतिनिधि विवाद नटुँगिदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो।

परराष्ट्र मन्त्रालयको विशेष श्रोतले प्रवास खबरलाई दिएको जानकारी अनुसार एनआरएनएको निर्वाचन केही समयका लागि स्थगित गर्ने निर्णय सामान्य प्रक्रिया हो।

‘उजुरी परेपछि छानवीनका लागि केही समय लिने प्रावधान सामान्य हो।तीन जना सदस्यले विधान विपरित प्रतिनिधि सिफारिस र चयन गरिएको भन्दै निवेदन हाल्नु भएको रहेछ। प्रक्रियाका लागि हामीले केही समय स्थगित गर्ने निर्णय गरेका हौं,’ श्रोतले भन्यो, ‘एनआरएनए नेतृत्वले विधान विपरित प्रतिनिधि सिफारिस र चयन भएको छैन भन्ने प्रमाण ल्याएको खण्डमा स्वघोषित मितिमा निर्वाचन हुनेछ।’

एनआरएनए श्रोतका अनुसार अक्टुबरबाट चुनाव लम्ब्याउने खेलमा संघकै वर्तमान नेतृत्वका केही पदाधिकारी लागेको बताइएको छ। त्यो भ्रमलाई चाडै चिर्न एनआरएनएको एउटा प्रतिनिधि मण्डलले छिटै परराष्ट्र अधिकारीसँग भेटवार्ता गर्ने सम्भावना प्रबल छ।

एनआरएनएको चुनावमा प्रतिनिधि भएर आउने नेतृत्वको सम्बन्धमा यसअघि नै एनआरएनएले स्पष्ट पारिसकेको छ। संघका प्रवक्ता डिबी क्षेत्रीले विधान अनुसार नै प्रतिनिधि चयन भएर आएको स्पष्ट पारिसकेका छन्। तर, यो सम्बन्धमा वर्तमान अध्यक्ष कुमार पन्तको मौनताले शंका उब्जाएको छ।