चिट्ठी पत्रको खाम जस्तै सस्तो भयो विदेशमा नेपालीको ज्यान

चिट्ठी पत्रको खाम जस्तै सस्तो भयो विदेशमा नेपालीको ज्यान

काठमाडौं। विदेशमा सुन्दर भविस्यको कामना गर्दै मलेसिया उडेका ताप्लेजुङ सिकैचाका राजेन्द्र लिम्बुको ६ अगस्टमा निधन भयो। कोभिड–१९ का कारण एक महिनाअघि मलेसियामा ज्यान गुमाएका लिम्बूको अस्तु शनिबार त्रिभुवन विमानस्थल आइपुग्दा माहौल नै ह्दय विदारक बन्न पुग्यो।

कोरोना प्रोटोकलका कारण उनको मृत शरीरलाई मलेसियामै सद्गद् गर्नुपर्‍याे। कानूनी प्रक्रिया पूरा गरेर शनिबार अस्तु काठमाडौं ल्याउँदा त्यहाँको माहौल स्तब्ध पार्ने खाल्को बन्यो।

एक त आफन्तलाई उनको काजक्रिया गर्न नपाएकोमा पछुतो थियो। त्यसमा पनि विदेशबाट चिट्ठी पत्र आएसरह एउटा प्याकेटमा अस्तु (खरानी) आफन्तलाई हस्तान्तरण गर्दा सबै स्तब्ध बन्न पुगे।

मृतक लिम्बूको अस्तुलाई स–सम्मान अन्त्येष्ठी गर्न सम्बन्धित निकायले यातायातको कुनै व्यवस्था गरेको थिएन। उनको अस्तु बोकेर परिवारजन विमानस्थल बाहिर निस्किँदा सबै स्तब्ध भएका थिए।

शनिबार लिम्बूको मात्र होइन, नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ११ जनाको अस्तु यसरी नै नेपाल ल्याइयो। काठमाडौं ल्याइएको सबैको अस्तु आफन्तजनले यसरी नै विमानस्थलबाट बाहिर निकालेका थिए।

यसअघि मृत शरीर ‘कफिन’ मा राखेर ल्याएको दृश्य देखेका नेपालीहरू यो दृश्य देखेर चिन्तित बनेका थिए।

यस्तै पाल्पा रामपुरका तुलबहादुर खम्घाम, बसन्तपुर सर्लाहीका महेश्वर राय यादव, बुद्धनगर काठमाडौंका गणेश ज्ञवाली, महोत्तरीका रामबाबु पण्डित, खुब बहादुर राना, मोरङका रामबहादुर धिमाल, टिकाराम भट्टराई, दैलेखका ललित महरा, कास्कीका मेखबहादुर गुरुङ र रामेछापका नरबहादुर कार्कीको अस्तु पनि शनिवार काठमाडौं आइपुगेको हो।

नेपाल बायुसेवा निगमको जहाजले मलेसियामा विभिन्न कारणले मृत्युवरण गरेका ६ शवसहित ११ अस्तु ल्याएको हो। सुनसरीका राकेश कुमार यादव,सप्तरीका गोपालसिंह विष्ट, भोजपुरका, जबरा बहादुर राई, मोरङका शिवकुमार तामाङ र रोल्पाका ओमप्रकाश पुन मगरको शव ल्याइएको हो।