एनआरएनएको यूएईमा उदाहरणीय काम : ७ महिनापछि घिमिरे सकुशल नेपाल फर्किए

दुबई। सात महिनाअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) को युनाइटेड अरब इमिरेट्स (यूएई) शाखाको सम्पर्कमा आउँदा शमशेर बहादुर घिमिरेको अवस्था निकै नाजुक थियो। उनको खुट्टामा गम्भीर घाउ थियो। उनको अवस्थाको विषयमा यूएई शाखाबाट जब एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले जानकारी पाए, उनले तत्कालै स्वास्थ्य विभागका संयोजक डा. संजीव सापकोटासँग समन्वय गरेर उपचारको व्यवस्था मिलाए।
सात महिना लामो उपचारपछि घिमिरे यही बुधबार नेपाल फर्किन सफल भएका छन्। काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण भएपछि भावविभोर देखिएका घिमिरेले एनआरएनएको सहयोगको भित्री हद्यदेखि नै प्रसंसा गरे। र, उनले भने, ‘म एनआरएनए प्रति सधै ऋणी रहनेछु।’
घिमिरेको उपचारको सम्बन्धमा उपाध्यक्ष डा. केसीले प्रवास खबरलाई दिएको जानकारी अनुसार यूएईमा उपचार गर्नेदेखि नेपाल पठाउनेसम्मको सम्पूर्ण खर्च संघको राहत तथा उद्दार कार्यक्रममार्फत भएको हो। डा.केसी एनआरएनएको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक पनि हुन्। उनी भन्छन्, ‘शमशेर बहादुर घिमिरेको उपचारमा हामीले संघको राहत तथा उद्दार कार्यक्रमबाट यूएईस्थित सेल्टरमा राखेर आवश्यक राहत उपलब्ध गराएका थियौं।’
घिमिरेलाई नेपाल फर्काउने विषयमा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा कार्यक्रमका संयोजक प्रवीण पोखरेलले नेपाली दूतावाससँग आवश्यक कागजपत्र मिलाउने कार्यमा तदारुकता देखाएका थिए।
उपाध्यक्ष डा. केसीका अनुसार यूएईमा बस्दा घिमिरेको ७ महिनाको दैनिक खर्च, आवश्यक औषधि उपचार खर्च, पीसीआर र हवाई टिकटको व्यवस्था राहत तथा उद्दार कार्यक्रममार्फत भएको हो। नेपालमा पनि होटल क्वारेन्टाइनमा बस्न, पीसीआर र काठमाडौंबाट घरसम्म पुग्ने यातायात खर्च यही कार्यक्रममार्फत गरिएको छ।
घिमिरे परिवारमा ५ सदस्य छन्। तीन वर्षअघि कामको सिलसिलामा यूएई आएका उनकै आयमा घर चल्दै आएको थियो।
यूएईमा रोजगार कम्पनीले १४ महिनामात्र जागिर दिएको उनले बताए। ‘खुट्टामा घाउभएपछि मलाई अन्यायपूर्ण रुपमा जागिरबाट निकालियो। श्रम भिसा भएपनि मैले अवैधरुपमा यूएईमा बस्नुपर्ने भयो। यसपछि सडकमा आउनुबाहेक कुनै उपाय भएन,’ उनले भने।
उनको करिब एक महिना अस्पतालमा उपचार भएको यूएईका कार्यक्रम संयोजक प्रवीण पोखरेलले जानकारी दिए। यसपछि सेल्टरमा सारिएको उनको भनाइ थियो। उनी भन्छन् , ‘सात महिना लामो पखाईपछि स्वदेश फर्काउन सफल भएका हौं।’
ताजा अपडेट

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ
