नेपालको पपुवान्यूगिनीमाथि दुई विकेटको जित

नेपालको पपुवान्यूगिनीमाथि दुई विकेटको जित

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिबसीयको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवान्यूगिनीलाई दुई विकेटले पराजित गरेको छ । खेल सकिन १० ओभर तीन बल बाँकी छदा आठ विकेटको क्षतिमा १३५ रन बनाएर नेपालले लक्ष्य पुरा गर्यो । १३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८२ रनमै सात विकेट गुमाएर फितलो प्रदर्शन गरेको नेपालका लागि रोहित पौडेलले संयमित पारी खेल्दै जितका लागि एक रन आवश्यक छँदा बोल्ड हुन पुगे।

पौडेलले ४१ रनको योगदान दिए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले अविजित २२ रनको योगदान दिए । दुबैले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरे । रोहित र सोमपालले गरेको अद्र्धशतकीय साझेदारी नेपाली पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । बिक्रम सोब रन नजोडिकन अविजित रहे । पपुवान्यूगिनीले ४० औं ओभरको तेस्रो बल नो बल फाल्दा नेपालले जित हात पार्यो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले औसत सुरुवात दिलाए । तर, मध्यक्रम असफल हुँदा नेपाली ब्याटिङ क्रम सामान्य लक्ष्य पछ्याउने क्रममा समेत दबाबमा आयो । पहिलो विकेटका लागि ४६ रनको साझेदारी भएको अवस्थामा कुशल भुर्तेल एलबीडब्ल्युको धरापमा परेर १५ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किए । लगत्तै आसिफ शेष ३० रन बनाएर पेभेलियन फर्किए । कप्तान ज्ञानेन्द्र मल्लले छ, आरिफ शेषले नौ, कुशल मल्लले १ तथा पवन सर्राफ खाता नखोल्दै पेभेलियन फर्के।

पपुवान्यूगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । ओमानको राष्ट्रिय क्रिकेट एकेड्मी रङशालामा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पपुवान्यूगिनीले ३३ ओभरमा १३४ रनको योगफल तयार गरेको थियो । पपुवान्यूगिनीका लागि चालर्स अमिनिले सर्बाधिक २३ तथा गौडी टोकाले २२ रनको योगदान दिए । सेसी बौले १४ र किप्लिन डोरिगाले १५ रनको योगदान दिए।

दोस्रो ओभरमा औसत गतिका बलर बिक्रम सोबले ओपनर टोनी उरालाई बोल्ड गर्दै पपुवान्यूगिनीमाथि दबाब बनाए । उनले तेस्रो ओभरमा पुनः कप्तान अस्साद भालालाई आरिफ शेषको हातमा क्याच थमाएपछि पपुवान्यूगिनीले नौ रनमै दुई महत्वपूर्ण विकेट गुमाउन पुग्यो । तर, सिएका र चालर्सले अद्र्धशतकीय पारी खेलेर पपुवान्यूगिनीलाई प्रारम्भिक दबाबबाट बाहिर निकाले । सन्दीप लामिछानेले चालर्सलाई विकेट पछाडि आसिफ शेषबाट क्याच आउट गराउँदै साझेदारी तोडे ।

पपुवान्यूगिनीलाई सस्तोमै समेटन नेपालका लागि दुई जना स्पिनर सन्दीप र कुशल मल्लले छ विकेट बाँडे । सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिए । कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी महँगो साबित भए । उनले सात ओभरमा ३७ रन खर्चिए । उनले एक विकेट लिए । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरेपनि विकेटविहीन रहनुपर्यो ।