बुबालाई सम्झँदा आज

बुबालाई सम्झँदा आज

२१ भदौ बिहान मोबाइलमा ‘नोटिफिकेसन’ को घन्टी बज्यो। सोचे– हिजो राती लेखेको ट्वीटमा लाइक वा कमेन्ट आएको होला। सामाजिक सञ्जालमा आउने भनेको आखिर त्यहिँ लाइक र कमेन्ट नै त हो। खासै चिनजान कोहीसँग छैन। त्यसैले ‘नोटिफिकेसन चेक’ गरिहाल्न मन लागेन।

ओहो ! हिजो राती कति पानी पर्यो, गाउँको अवस्था के भयो होला ? अस्ति भर्खर प्रदेश सरकारको बजेट सदूपयोग गर्दै मेसिन लगाएर रोड खन्दा पूरै जमीन हल्लिएको थियो। सायद पहिरो गयो कि ? घरमा फोन गर्नुपर्यो भनेर सोच्दै थिएँ तर, मन लागेन। एका बिहानै फोन गर्दा के–के न भयो भनेर ममीबुवा आत्तिनु हुन्छ कि भनेर फोन गर्ने आँट आएन। अर्कोपट्टी फर्केर सुतेँ। बिहान निन्द्रा त पुगिसकेको थियो तर, उठ्न मन लागेन।

किन हो मलाई बालापन नै ठिक लाग्छ। सानोमा मेरो लागि सोचिदिने बुवाआमा त हुनुहुन्थ्यो। अझै पनि उहाँहरु सन्तानको लागि सोचिरहनुभएकै छ। तर, उमेर बढ्दै जाँदा आफूलाई पनि छटपटी लाग्ने रहेछ।

मनमनै सम्झिए– अब यसरी सुतेर हुँदैन। धेरै अघि बढ्नु छ। घरबाट टाढा यो बिरानो शहरका अनजान भीड छिचोल्दै अलि अगाडि जानुछ। यो निन्द्रा यस्तै हो, जति सुत्यो त्यति लाग्छ।

तर, के गर्नु जति नै छिटो उठ्छु भनेपनि उठ्ने बेला ७ बजिसकेको हुन्छ। घरमा ढिलो उठेर चिया सुर्काउनुको मज्जै बेग्लै छ। तर, यहाँ एकछिन ढिलो ब्युँझियो कि खाना नखाई कुद्नु पर्छ। काम नगरे आम्दानी छैन, काम गरे आफ्नै लागि समय छैन।

ठिकै छ सबै कुरा सोचे जस्तो हुँदैन। सबै कुरा यतिकै मिल्थ्यो भने संसार बेग्लै हुन्थ्यो होला। सजिलै प्राप्त गर्ने कुराको खासै महत्व हुँदैन। जिउन सजिलो हुन्थ्यो भने हामीहरुलाई जिन्दगी यति धेरै महत्वपूर्ण पनि लाग्दैनथ्यो होला।

चिया पिएर खाना बसाल्दै गर्दा बल्ल अघिको ‘नोटिफिकेसन’ को याद आयो। ‘अनलक’ गरेर मोबाइल हेरेँ। ‘हाम्रो पात्रो’ को ‘नोटिफिकेसन’ पो रहेछ। यो एपको ‘नोटिफिकेसन’ त दिनहुँ नै आउँथ्यो तर आजको ‘नोटिफिकेसन’ मलाई सामान्य लागेन। लेखिएको थियो, ‘बुवाको मुख हेर्ने तयारी गर्नुभयो त।’

यो ‘नोटिफिकेसन’ ले एकछिन त मेरो दिमाग हल्लियो। सोचे– ‘तयारी त्यतिबेला गरिन्थ्यो, जतिबेला बुवासँग पैसा मागेर बुवाकै मुख हेर्ने दिनको तयारी हुन्थ्यो।’

सानोमा बुवाले किनेर ल्याउनुभएको मिठाई बुवालाई खुवाउँदाको त्यो रमाइलो पल छुटेको लामो समय वितिसक्दा पनि पत्तै भएन छ। बुवाआमाले आज औंसी हो भनेर टिका लगाइदिँदा, उहाँहरुले दिने गरेको पैसाको मात्र माया लाग्थ्यो। आज ‘नोटिफिकेसन’ ले त्यही पुरानो दिनको याद दिलाएको छ।

मलाई लाग्छ– उज्जवल भविष्यको खोजीमा परदेशमा रहेका म जस्ता मध्यमवर्गीय परिवारका लागि आजको दिन गुनासो गर्ने भन्दा चित्त बुझाउने बाहेक केही छैन। बुवाको सधैँ आउने याद आज झन् गाढा भएर आयो। सम्झिरहने मनलाई आज सम्झाउन सकिनँ। फोन गर्न मन थियो, बुवा भनेर रुने मन थियो। तर, रुवाउन मन लागेन।

‘नोटिफिकेसन’ खोले। राम्रो भिडियो बनाएको रहेछ। भिडियोमा छोराले बुवाबाट टाढा रहेर पनि अनलाइनबाट कुरियरमार्फत गिफ्ट घरमै पठाएको दृश्य थियो। तर, म त्यो सामान्य काम गर्न सक्दिन थिएँ । किनकि बुवाका लागि छोराछोरीको साथ लाख हुन्छ। हजारौँ खर्चेर किनेको उपहारभन्दा उहाँहरु आफ्नो सन्तानलाई नजिक पाउँदा बढी खुसी हुनुहुन्छ।

मेरो बुवा त्यतिबेला पनि खुसी हुनुहुन्थ्यो, जतिबेला आफ्नै लागि किनेर ल्याउनु भएको टिसर्ट म लगाइदिन्थेँ। उपहार र पैसा ठूलो हुने भए बुवाले मलाई माया दिन नसिकाएर उपहार दिन सिकाउनु हुन्थ्यो होला।

मेरो बुवा आफू बुवा भएकोमा गर्व गर्नुहुन्थ्यो। मैले बुवाका आँखामा उहाँको सपना र काँधको जिम्मेवारीबीच तारतम्य मिलेको कहिले देखिन। आफ्नो सपना लुकाएपनि जिम्मेवारी पूरा गर्न उहाँ मुस्कुराइरहनु हुन्थ्यो। मेरो छोरी छोरा समान हो, तिमीप्रति मेरो विश्वास छ भन्दै उहाँ अघि बढ्न हौसला दिने गर्नुहुन्थ्यो।

‘बुवा म यो काम गर्छु नि भन्दा जे सुकै गर’ भन्ने मेरो बुवा फेरि एकछिनमा मलाई फकाउँदै हुन्छ नि गर भन्नु हुन्थ्यो। तपाईंप्रति हार्दिक नमन छ, बुवा। तपाईंका केही जिम्मेवारीहरू मैले पनि काँधमा लिन सकूँ, आशीर्वादसँगै मलाई माया दिने तपाईंले केही जिम्मेवारी पनि दिनुहोला।

यो कुशे औंसीको दिन मात्र होइन, हरेक दिन बुवाको मुख हेर्ने दिन होस्। हामी जस्ता घरबाट टाढा बस्नेलाई यही दिन पनि मुख हेर्न नपाउनुको पीडा बेग्लै छ।

कुशे औंशीको शुभकामना !